अमेरिका : टेक्ससको डेरी फार्ममा विस्फोटन हुँदा १८ हजार गाई मारिए

काठमाडौं । अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा झन्डै १८,००० वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विष्फोटन भएको थियो। उक्त घटनामा परी एक व्यक्ति पनि गम्भीर भएका छन्।
अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका छन्।
सन् २०१८ देखि सन् २०२१ सम्म अमेरिकाका विभिन्न ठाउँमा भएका आगलागीमा फार्ममा पालिएका झन्डै ३० लाख चौपायाको मृत्यु भएको थियो।
क्यास्ट्रो काउन्टीको प्रशासनका अनुसार उक्त फार्ममा आगो लागेको जानकारी सोमवार मात्रै प्राप्त भएको थियो।
कसरी भयो विस्फोटन
उक्त कार्यालयले पोस्ट गरेको तस्बिरमा भुइँबाट ठूलो धुवाँको मुस्लोमाथि उडिरहेको देखिन्छ।
प्रहरी र आपत्कालीन सेवाका व्यक्तिहरू घटनास्थलमा पुग्दा उनीहरूले एक व्यक्ति त्यहाँ फसेको फेला पारेका थिए। उनलाई उद्धार गरी अस्पताल पठाइएको छ।
गाईबस्तुको डकार र अपानवायुमा मीथेन ग्यास हुन्छ र गोबरबाट पनि यो अतिज्वलनशील ग्यास बन्छ।
‘गोबर र पानीलाई सोहोर्न प्रयोग गरिने भ्याक्यूम’ जस्तो एउटा उपकरणबाट आगलागी भएको हुनसक्ने उनले केएफडीएलाई बताए।
उनले भने, “सायद त्यो तातो भयो र सम्भवतः मीथेन र अरू त्यस्तै पदार्थ फैलियो र विस्फोटन भयो।”
साउथ फोर्क डेरीमा विस्फोटन भएपछि उद्धार टोली पुगेको थियो
उक्त आगलागीमा मारिएका गाईबस्तुको स्पष्ट सङ्ख्या थाहा हुन सकेको छैन। तर काउन्टी प्रशासन कार्यालयले “१८,००० चौपाया मारिएको“ हुनसक्ने जानकारी बीबीसीलाई दिएको छ।
स्थानीय सञ्चारमाध्यम केएफडीएसँग कुरा गर्दै शेरिफ साल रिभेराले दूध दुहुनका लागि लैजाने ठाउँअघि गाईहरूलाई राख्ने ठाउँमा आगो फैलिएपछि अधिकांश चौपायाहरू मरेको बताए।
“केही जीवितै पनि फेला परेका छन्,” उनले भने, “कतिपय निको हुन नसक्नेगरी घाइते भएकाले उनीहरूलाई नष्ट गरिनुपर्ने अवस्था छ।”-बीबीसी






