कानको झुम्का बेचेर विदेश पठाएको श्रीमानले नै दाईजोका लागि स्वेताको शरीरमा आगो लगाईदिएपछि….

जनकपुरधाम । धनुषामा दाईजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाईजोको तीन तोला सुन नदिएपछि श्रीमतिलाई आफ्नै श्रीमानले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । मेरो बुवा आमाले दाईजोको तीन तोला सुन नदिएपछि श्रीमान्ले शरीरमा आगो लगाईदिनुभयो । प्रादेशिक अस्पताल जनकपुरधामको वर्न वार्डमा उपचाररत वर्ष २८ की स्वेता झाले आरोप लगाएकी हुन् ।

भारतको कोठिया दरभङ्गा माईती भएको स्वेताको विवाह १० वर्ष पहिले देवपुरा रुपैठाका शिवशंकर झा र द्रोपति देवीका छोरा राजिव झासँग भएको थियो । दुई दाजुभाई र एक्ली बहिनी रहेकी स्वेताको विवाह १६ अप्रिल २०१२ (२०६८ चैत्र ३०) मा भएको थियो । केटा राम्रो पढे लेखेको छ । जागिर हुुने वाला छ भन्दै झुक्याएर उनको विवाह राजीवसँग गराईएको स्वेताको परिवारजनको आरोप छ । विवाहमा स्वेताको बुवाले दाईजोमा तीन तोला सुनसहितका अन्य सरसामानहरू दिने भनेका थिए । तर, भारतको मुम्बईमा मजुदरी गरेर जीवनयापन गर्ने स्वेताका बुवाले राजीवका घरपरिवारलाई दाईजो स्वरुप स्वीकारेका मध्ये दुई लाख भारतीय रुपैयाँ, होण्डा कम्पनीको मोटरसाईकल र आठ आना सुन मात्रै दिएको थियो । तर, दाईजोको रुपमा दिन स्वीकारेका अन्य सरसामानहरू दिएपनि बाँकी राखेको सुनको लागि उनको हत्याको प्रयास गरिएको स्वेताको बुवा जयकुमार झा बताएका छन् ।

‘श्रीमान्बाट नयाँ वर्षमा नयाँ उपहार पाउँछु भन्ने आशा हरेक श्रीमतिको हुन्छ । तर, स्वेताको हकमा भने फरक भयो ।

गत वैशाख १ गते नयाँ वर्षका दिन मधेसमा सतुवाईनका दिन दिनको १२ बजेको समयमा दिउँसै रक्सी सेवन गरेर आएर ९ वर्षीय छोरा शिवम्लाई कुटपिट गर्दा बचाउने क्रममा श्रीमान् राजीव झाले श्रमतिलाई पनि कुटपिट गर्न थाल्यो । त्यसपछि कुटपिट कै क्रममा आमा र भाईलाई बोलाएर दाहिने हात सासु द्रोपति झा र देव्रे हात देबर कमल झा र कपाल समातेर श्रीमान्ले मरणासन्न हुनेगरी कुटपिट गरेर श्रीमानले शरीरमा आगो लगाईदिए ।

स्वेताले भनिन्, ‘मेरो जिउमा लागेको आगो घरमा सल्किन सक्ने देखेपछि आँगनमा ल्याएर राखिदियो । केही बेर जिउँमा आगो धन्की रहेको थियो । म छटपटाई रहँदा पनि कसैले बचाउँन आएन । पछि छिमेकीहरूले आएर मलाई उद्धार गर्यो ।’

‘घटनापछि अस्पताल भर्ना गराउँदा कही प्रहरीले समात्छ कि भन्ने डरले उनलाई अस्पताल पनि लग्न मानेको थिएन, स्वेता भन्छिन्, ‘भात पकाउने बेलामा भातको माड जिउँमा पोखेको भन्नु अनि मात्रै अस्पताल लग्छु नभए लग्दिन भनेर श्रीमान्ले धम्की दिएपछि पीडा सहन नसकेर हुन्छ भनेपछि अस्पताल ल्याएको हो ।’

‘उपचारको लागि ल्याएको जानकी हेल्थ केयरमा पनि झुठो नै बोल्न लगायो’ स्वेताले भनिन्, ‘कुटपिट गरिरहँदा मेरो छोराले मलाई कुटपिट गरिरहेको भिडियो कलमार्फत मेरो भाईलाई खबर गरेको थियो । र, मेरो जिउँमा आगो लगाएको पनि देखाईदिएको थियो । त्यसपछि मेरो उपचार जानकी हेल्थ केयर भईरहेको पत्ता लगाएर मेरो भाई र काका सहितको परिवारजनले मलाई उद्धार गर्यो । मेरो परिवारजन म कहाँ आउँदै छ नभेर थाहा पाएपछि मेरो श्रीमानले मेरो परिवाजनलाई पनि कुटपिट गर्ने योजना बनाएको थियो, स्वेताको भनाई छ ’

जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भईरहँदा पनि श्रीमान् राजीवले स्वेतालाई उपचार खर्च तिर्न उनको गहना बेच्न मागेको थियो ।

स्वेता भन्छिन्, ‘जानकी हेल्थ केयरमा उपचार भईरहँदा पनि श्रीमान्ले भन्यो गहना ल्याउँ बेचेर उपचार गराउँछु । नभए बुवालाई फोन गर पैसा पठाउँनलाई ।’

घटना घटेकै दिन उनको परिवारजनले जनकपुर आएर स्वेताको उद्धार गरेको थियो । त्यसपश्चात जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

‘दाईजोको कारण बिहेको डेढ वर्ष त माईती जानै दिएन स्वेताले भनिन्, ‘दाईजोको कारण १० वर्षदेखि पारिवारिक यातना खेप्दै आएको छु । श्रीमान् विदेश जाँदा पनि मैले नै कानको झुम्का बेचेर दिएपछि उहाँ विदेश जानुभएको थियो । तर, विदेश गएपछि एक सुको पठाउनु भएन् ।’

श्रीमान् विदेश गएपछि उनी करिब ५ वर्ष माईतीमै बसिन् । कोरोना कालमा ससुराली फर्केपछि ब्याचलर पढेकी स्वेता छोराछोरीको लालनपालन गर्न जनकपुरधामस्थित एजुकेशन प्याईन्ट स्कुलमा पढाउन थालेकी थिईन् । तर, एक वर्षअघि फागुनमा विदेशबाट श्रीमान् घर फर्केपछि स्कुल पनि छोड्नुपरेको स्वेता सुनाउँछिन् ।

श्रीमान् विदेशबाट फर्किदा जहिले रक्सी खाएर आउँने र घरमा यातना दिएपछि भदौमा (चौरचन पर्व) को बेला स्थानीय प्रहरी चौकी फुलगामा सहयोगको लागि पनि ३ पटक गुहार गरेको स्वेताको भनाइ छ । तर, प्रहरी पनि श्रीमानसँगै मिल्दा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । जिल्ला प्रहरी कार्यालयमा श्रीमान्ले कुटपिट गरी यातना दिएको उजुरी गरेपनि त्यहाँबाट महिला सेलबाट पत्र लेखेर स्थानीय प्रहरी चौकीमै पठाईदिएपछि बिचल्लीमा परेको उनको भनाइ छ ।

उनले भनिन्, ‘महिला सेलबाट मलाई स्थानीय प्रहरी चौकीमा पत्र दियो सो कुरा श्रीमान्ले थाहा पायो अनि न त त्यो पत्र प्रहरीलाई दिन दियो र त्यसपछि न स्कुलमा जागिर नै गर्न दियो ।’

स्वेता भन्छिन्, ‘प्रहरीसँग सहयोग लिन खोज्दा गरिरहेको जागिर पनि गयो । प्रहरीमा निवेदन दिन जाँदा प्रहरीले मलाई न्याय दिनुको सट्टा प्रहरीले मेरो श्रीमान्लाई फोन गरेर भनिदिुन्थ्यो कि तिम्रो श्रीमति यहाँ उजुरी दिन आएकी छिन् भनेर ।’

प्रादेशिक अस्पतालमा उपचाररत स्वेताको श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । अवस्था सामान्य बन्दै गएको चिकित्सकले बताएको छ ।

अस्पतालको बेडवाटै नेपाली कागजमा हस्ताक्षर र औठा छाप लगाउँदै स्वेताले श्रीमान्सहित देवर, सासु र ससुरा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले उजुरी प्राप्त भएको बताए । उनले घटनाको अनुसन्धान भईरहेको र आरोपतिहरुको खोजी भईरहेको बताए । डिएसपी गौतमले यसअघि पनि उजुरी दिएको जनाउँदै पीडितले प्रहरीबाटै भएको कमिकमजोरीको समेत अनुसन्धान हुने आश्वासन दिए ।

धनुषामा २०७९ सालमा दाईजो सम्बन्धी घटना पाँच वटा र २०८० मा हालसम्म एउटा घटना घटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया