लुम्बिनीमा मन्त्री परिषद् विस्तार, मन्त्रीले लिए शपथ

भैरहवा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएको छ ।
मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक÷एक जना गरी तीन जना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाएको हो । लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएको छ ।
नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएको हो ।
खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विना विभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएको छ ।
यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएको थियो । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ ।
बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मन्त्रिपरिषदमा पठाउने सांसदहरुको विषयमा कुरा नमिलेपछि माओवादीले विस्तार भएको मन्त्रिपरिषदमा कसैको नाम नपठाउँदा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन ।
माओवादी संसदीय दलका नेता जोख बहादुर महाराले भने माओवादीमा विवादका कारण नभई मूख्यमन्त्रीले मागेको आधारमा मन्त्री पठाईएको बताए ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो ।
यस्तै लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुटवलका बुद्ध बहादुर थापा नियुक्त एको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गर्नु भएका थापाले कानुनमा स्नातक हुनुहुन्छ । थापालाई पनि सोमबार नै शपथ ग्रहण गराईएको छ ।






