रहेनन् मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.साह

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका डा.साहको आज बिहान ६८ वर्षको उमेरमा निधन भएको हो ।
लिभर फेलियरका कारण उनको निधन भएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन् ।
रगत बाक्लो हुने समस्याका कारण पछिल्लो २ महिनादेखि पीडित डा.साहको पछिल्लो समय भारतको दिल्लीस्थित अभिन नारायण स्पेशियालिटी अस्पताल गुडगाउँमा उपचार भइरहेको थियो ।
हाडजोर्नी रोग विशेष रहेका डा.साहको नेतृत्त्वमा प्रतिष्ठानमा स्नातक तह (बीएससी नर्सिङ, बीएनएस, बीएसएमएलटी, बीपीएच) मा चार वटा विधामा अध्यापन सुरु गराएका थिए भने यसै वर्षदेखि स्त्री तथा प्रसुति र बालरोग विधामा पनि अध्यापन सुरु भएको छ ।
प्रतिष्ठानको पहिलो उपकुलपति बनेका डा.साहले प्रतिष्ठानको स्तरोन्नतिका लागि विभिन्न पहलहरू थालेका थिए । उनले प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताललाई १ सय शय्याबाट ३ सय बनाउन, देश तथा विदेशका विश्वविद्यालय तथा प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा शिक्षण प्रशिक्षण अगाढी बढाउन पनि सम्झौता गर्ने, गुठी संस्थानको जग्गा भाडामा लिई प्रतिष्ठानलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउने लगायतका योजना अघि सारेका थिए ।
३ महिना अघि नागरिक मिररसँगको विशेष कुराकानीमा उनले अस्पतालमा कार्यरत चिकित्सकको सेवासुविधा बढाउने, अस्पतालको सेवालाई सहज र गुणस्तरीय बनाउनका लागि पनि पहल भइरहेको बताएका थिए ।
उनले अस्पतालमा देखिएका विभिन्न वेथिलिलाई अन्त्य गर्नका लागि पनि पहल गरिरहेको बताएका थिए ।
सन् १९५५ मार्चमा जन्मेका डा.साहले भारतको मेरुत विश्वविद्यालयबाट एमबीबीएस, एमएस अर्थो गरेका थिए भने बेलायतको लिभरपुल विश्वविद्यालयबाट एमसीएच अर्थो गरेका थिए ।






