नेपासका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) का नवनिर्वाचित पदाधिकारीहरूले शपथ तथा पदभार ग्रहण गरेका छन् ।
गत वैशाखमा सम्पन्न भएको नेपालसको २० औं सम्मेलनबाट आगामी २ वर्षका लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिका पदाधिकारीहरूले शुक्रवार एक कार्यक्रमका बीच शपथ ग्रहण गर्दै पदभार सम्हालेका हुन् ।
नेपासका प्रमुख निर्वाचन अधिकृत डा.मधु सुदन पुनले अध्यक्षसहित सबै पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए ।
नेपासको २० औं सम्मेलन तथा ४२ औं साधारणसभाबाट अध्यक्षमा डा.अरुण न्यौपाने निर्विरोध निर्वाचित भएका थिए भने उपाध्यक्षमा डा.रामहरी चापागाईँ, महासचिवमा डा.प्रकाश जोशी, कोषाध्यक्षमा डा.केशव प्रसाद अग्रवाल, सचिवमा डा.संगीता शाक्य, सह कोषाध्यक्षमा डा.दिपक राजभण्डारी निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरूमा क्रमशः डा.सन्तोष अधिकारी, डा.स्मृति माथेमा, डा.रामचन्द्र वास्तोला, डा.सन्तोष पोखरेल, डा.लव कुमार साह, डा.पावना कायस्थ, डा.सुजिता भण्डारी र सृजना बस्नेत निर्वाचित भएका थिए ।
शपथ ग्रहण तथा पदभार ग्रहणपछि नेपासका अध्यक्ष डा.न्यौपानेले नेपालमा बालबालिकाको स्वास्थ्य अवस्थामा देखिएको कमीकमजोरीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर आगामी दिनमा नेपासले विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूसँग मिलेर काम गर्ने बताए ।
उनले नेपालमा बालबालिकाको स्वास्थ्यसम्बन्धी सेवा प्रवाह, सरकारले प्रवाह गर्ने बालबालिकाको स्वास्थ्य सेवामा पहुँच लगायतका विषयमा पनि नेपासले वकालत गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष न्यौपानेले नेपासले आगामी दिनमा निकै सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले बनाउने नीति निर्माणमा वकालत गर्ने, बाल स्वास्थ्यका लागि आवश्यक पर्ने सेवा र कार्यशाला प्रवद्र्धन गर्ने पनि बताए ।
उनले नेपालमा बालबालिकाको स्वास्थ्यका लागि नेपासले सक्दो पहलकदमी लिएर नेपालमा बाल मृत्युदर कम गर्न भूमिका निर्वाह गर्ने पनि बताए ।






