जनकपुरमा “राजागन्ज” फिल्मको सुटिङ हुने

जनकपुरधाम । मिस नेपाल निकिता चण्डक र राम बाबु गरूङ निर्मित पुलिस थ्रिलर फिल्म “राजागन्ज”मा अभिनय गर्ने भएकी छिन् ।
उर्लाबारीकी चण्डक सन् २०१७ को मिस नेपाल उपाधिकी विजेता हुन् । त्यसयता चण्डकले कोका कोला, हुवाई, यमाहा फसिनो जस्ता ब्राण्डका लागि मोडलिङ गरिसकेकी छिन् । भर्खरै मात्र उनले कोन्सटन्टिन बोजानभ निर्देशित द शेमलेस नामक चलचित्रमा अभिनय गरेकी छिन् ।
कक्षा नौमा पढ्दा एउटा स्कूले आयाेजना गरेकाे नाटकमा भाग लिएपछि अभिनय गर्ने शोख बसेको निकिता बताउँछिन् । त्यसदेखि नै कलाकारको रूपमा आफ्नो करियर अघि बढाउन उनी लागि परेकी छिन् । “राजागन्ज”मा अभिनय गर्ने सम्बन्धमा उनी भन्छिन्, दया हाङ राई र आशा मगराती जस्ता अनुभवी कलाकारहरूसँग काम गर्न पाउँदा उत्साहित र नर्भस दुवै छु।”
“सेतो सूर्य” र “हाईवे” जस्ता अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त फिल्मको निर्देशन गरेका दीपक रौनियार “राजागन्ज”लाई निर्देशन गर्दै छन् । उनका यसअघिका फिल्मले प्रशस्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउनुका साथै विश्वभर देखाइएका छन् । “सेतो सूर्य” मा उनको कामलाई “द न्यू योर्क टाइम्स्” ले “हेर्नुपर्ने नयाँ नौ निर्देशकहरू” को सूचीमा राखेको थियो । त्यस्तै प्रख्यात ब्राजिलियन लेखक पाउलो कोहेलोले “सेतो सूर्य” लाई सार्वजनिक रूपमै प्रशंसा गरेका थिए । रौनियारको नयाँ चलचित्र “राजागन्ज” कम समयमा बाँधिएको पुलिस थ्रिलर हो जसमा आधुनिक नेपाली सिनेमामा पहिलोपटक दुई महिला नायिकाले मुख्य भूमिका खेल्दै छन् ।
“कबड्डी” र “जारी” जस्ता हिट सिनेमा दिएका निर्माताले नै यो फिल्मलाई निर्माण गर्दै छन् । गुरुङ भन्छन्, “गएको दश वर्षमा दीपकले आफ्नो सिर्जनशीलता प्रमाणित गरिसकेका छन् । दीपकसँग मेरो दोस्ती हामी दुवै भर्खरै सिनेमा बनाउन थाल्दादेखिको हो । उनीसँग यतिखेर काम गर्न पाउँदा म अत्यन्तै उत्साहित छु । यो फिल्म नेपाली सिनेमामा एउटा कोसेढुङ्गा हुनेछ र यो फिल्मले बाँसुरी फिल्म्सको पोर्टफोलियो बढाउँछ भन्ने कुरामा मलाई खुशी लागेको छ ।”
आदी फिल्म्स र बाँसुरी फिल्म्स प्रोडक्सनले यो फिल्मलाई सँगै प्रस्तुत गर्दैछन् । फिल्मको सुटिङ जुलाई २८ बाट जनकपुरमा हुँदैछ ।
यो फिल्ममा मगराती, चण्डक र राईसमेत गरी ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्षा यादव पनि अभिनय गर्दै छन् ।






