मधेसका अधिकांश स्थानीय तहले ल्याएन अझै बजेट, सबैभन्दा अगाडी सप्तरी

जनकपुरधाम । स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान गरेपनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएको छैन् । कतिपयले बजेट ल्याएपनि आन्तरीक विवादका कारण सभामा ल्याएको उक्त बजेट पारित गर्न सकेको छैन् ।
पालिकामा जनप्रतिनिधिहरुबीचको विवादका कारण स्थानीय तहहरुको नगरसभा÷गाउँसभा प्रभावित भएको देखिन्छ । फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुबीच सहमति नहुँदा बजेट प्रभावित भएको हो ।
मधेस प्रदेशको आठ वटा जिल्लामा १ सय ३६ स्थानीय तह छन् । जसमध्ये ७५ स्थानीय तहले मात्रै बजेट ल्याएको छ भने ६१ स्थानीय तहले अझै बजेट नगरसभा/गाउँसभा पेस गरेको छैन् ।
त्यस्तै उनीहरुले असार १० गते नगरसभा/गाउँसभामा पेस गरेर असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने पनि स्थानीय सरकार सञ्चालन व्यवस्था छ । तर, ७५ स्थानीय तहले नगरसभा÷गाउँसभामा बजेट पेस भएपनि असार २५ गते पारित गरिसक्नुपर्नेमा असारमसान्तसम्म पनि ५६ वटा स्थानीय तहले मात्रै नगरसभा÷गाउँसभा बजेट पारित गर्न सकेका छन् ।
सप्तरीमा १८ वटा स्थानीय तह रहेका छ । जसमध्ये ७ वटा स्थानीय तहले बजेट नगरसभा÷गाउँसभामा गरेका छन् । भने ११ वटाले पेस गरेका छैनन् । जसमध्ये ७ वटै पालिकाले बजेट पेस गरिसकेका छन् ।
सिरहामा १७ वटा स्थानीय तह भएकोमा १० वटा स्थानीय तहले बजेट ल्याएको हो बाँकी ७ वटा स्थानीय तहले अझै बजेट ल्याएको छैन् । यस जिल्लामा १० वटा स्थानीय तहले बजेट ल्याएपनि असार २५ गतेभित्र ८ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । जिल्लाका विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले गाउँसभामा समयमै बजेट पेस गरेपनि अझै पारित गर्न सकेको छैन् ।
अबको एक दुई दिनभित्रै गाउँसभाबाट पारित गरिसक्ने सिरहा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताएका छन् । उनले सबै थोक भईसकेको बताए । उनले सबै थोक तयारी भईसकेपनि काजगमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको उनले बताए ।
‘असारमसान्त थियो, अलिक बढी नै व्यस्तता भयो, त्यसैले पारित गर्न सकेको छैन्,’ अध्यक्ष यादव भन्छन्, असारकै मितिमा हामीले अबको एक दुई दिनभित्र बजेट पारित गरिहाल्ने हो।’
अध्यक्ष जी बाहिर(काठमाडौं) जानुभएको छ, त्यसैले बजेट पारित हुन नसकेको भगवानपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी यादवले बताईन । उनका अनुसार गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव काठमाडौंबाट फर्केपछि बजेट पारित हुनेछ । पालिकामा खासै आन्तरीक विवादका कारण बजेट पारित हुनबाट नरुकेको उनले बताईन् ।
यस्तै, धनुषामा नौ वटा पालिकाले समयमै सभा गरेपनि हालसम्म तीन वटा स्थानीय तहले मात्रै बजेट पारित गरेका छन् ।
‘योजनाहरुको पेमेन्ट बाँकी थियो, त्यसैले त्यस्ताले हतारमा बजेट स्वीकृत गर्न नसकेको बताउँदै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो भन्छन्, अब गरिहाल्ने हो ।’
बटेश्वर गाउँपालिकाले पनि असार २५ गते कै मितिमा सभा सदस्यहरुसँग साईन गराएर बजेट पारित गर्ने अध्यक्ष महतोको योजना छ ।
धनुषामा ६ वटा पालिकाहरु अझै बजेट पारित गर्न नसकेको कतिपयको असारमसान्तको क्लोलिंग हो भने कतिको स्थानीय तहको आन्तरीक विवादले ।
यस्तै, महोत्तरीमा १५ वटा स्थानीय तह रहेकोमा १३ वटा पेस गरेका हुन् भने २ वटाले अझै पेस गर्न सकेका छैन् । यहाँ १३ वटाले पेस गरेपनि हालसम्म पारित भने ९ वटा पालिकाले मात्रै गर्न सकेका छन् ।
सर्लाहीमा २० वटा स्थानीय तह छ । जसमा १३ वटाले पेस गरेको र ७ वटाले पेस नगरेको देखिन्छ । यस जिल्लामा १३ वटा स्थानीय तहले पेस गरेपनि ११ वटाले मात्रै बजेट पारित गरेका छन् ।
रौतहटमा १८ वटा स्थानीय तह रहेकोमा ९ वटाले मात्रै पेस गरेका छन् । ९ वटाले पेस गरेपनि हालसम्म ७ वटा स्थानीय तहले मात्रै बजेट पारित गरेका छन् ।
त्यसैगरी बारामा १६ वटा स्थानीय तह छ । जसमा ९ वटाले पेस गरेका छन् भने ७ वटाले पेस गरेका छैनन् । ९ वटाले स्थानीय तहले बजेट सभामा पेस गरेपनि २ स्थानीय तहले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन्।
यस्तै, पर्सामा १४ वटा स्थानीय तह छन् । जसमा ५ वटाले पेस गरेको र ९ वटाले पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाईटमा प्रविष्ट गरिएको तथ्यांकमा देखिन्छ । जसमध्ये १ वटा स्थानीय तहले अझै बजेट पारित गर्न सकेको छैन् ।






