जनकपुरधाम रेल्वे स्टेशन : सुरक्षाकर्मीकै अगाडी लुटियो एकजना महिलाको पैसा, सुरक्षाप्रति महाप्रबन्धक छैनन् गम्भीर

जनकपुरधाम । नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे सुरक्षित छैन । स्थानीय मात्रै होइन स्वदेशी तथा विदेशी पर्यटकहरू पनि धुम्न आउने नेपाल रेल्वे असुरक्षित भएको हो । आइतवार दिउँसै रेल्वेमा एकजना महिलाको २ लाख ७० हजार रुपैयाँ लुटिएको थियो ।

सुरक्षाकै लागि दर्जनौं सुरक्षाकर्मी खटाईपनि यसरी यात्रु लुटिएपछि नेपाल रेल्वे बदनाम भईरहेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ३ कठालकी सुनिता कुमारी यादवको रुपैयाँ लुटिएको करिब २४ घण्टा पुग्न थालेपनि चोर अझै समातिएको छैन् ।

जनकपुरधामस्थित एनआईसी एसिया बैंकबाट पैसा निकालेर घर जानेक्रममा उनको रुपैयाँ लुटिएको थियो । आईतबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा रेलमा चढ्ने बित्तिकै उनको ह्याण्ड ब्याग गायब भएको र त्यसमा भएको २ लाख ७० हजार रुपैयाँ लुटिएको थियो ।

गाउँमा जग्गा किनेवापत जग्गा धनीलाई पैसा दिन श्रीमानले विदेशबाट पठाएको पैसा झिकेर घर आउँने क्रममा उनको पैसा लुटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले पाकेटमारले पैसा लुटेको सूचना आएको बताएका छन् । उनले घटना घटे लगत्तै टोली परिचालन गरेको बताए । तर, रेल्वे स्टेशनमा सिसिटीभी क्यामरा नभएको कारण लुटेरालाई खोज्न कठिन भईरहेको उनले बताए ।

उनका अनुसार रेल्वे स्टेशनमा भिडभाड भएको कारण पैसा लुटिएको हो । अझै लुटेरालाई खोज्न टोली परिचालन गरेको उनको भनाइ छ ।

यसरी हेर्दा निकै भिडभाड रहने धार्मिक पर्यटकीय नगरी जनकपुरधाम रेल्वे स्टेशनको सुरक्षामा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा गम्भीर देखिँदैन । आइतवार दिउँसै स्टेशनबाट पैसा लुटिएपनि उनी यस विषयमा प्रतिकृया दिन मानेका छैनन् ।

भिडभाड रहने स्थानमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्न सिसिटीभि क्यामेराको अहम भूमिका हुन्छ । तर,‌ रेल्वेका महाप्रबन्धक नै गम्भीर नभएपछि यस्तो घटना घटेको स्थानीयहरूको आरोप छ।

लुटिएको यो घटना पहिलो भएपनि यसअघि पनि रेल्वे सञ्चालनको विषयमा उनी गम्भीर नभएको देखिन्छ । रेल्वेबाट दैनिक भन्सार छली गरी अवैध रुपमा गुटखा, कपडा लगायतका सरसामानहरू आउँदा पनि उनले यस विषयमा अहिलेसम्म केही कदम चालेको देखिँदैन ।

यसअघि केही सञ्चार माध्यमहरूले गुटखा र तस्करीको विषयमा भिडियोसहितको समाचार केही सञ्चार माध्यममा आएपछि केही दिन तस्करहरूलाई तस्करी नगर्न सचेत गराईएको थियो । त्यतिबेला तस्करहरू सचेत भएका थिए भने सर्वसाधारणहरूले अनाहकमा दुःख पाईरहेका थिए । अहिले फेरि तस्करी बढेको छ ।

रेल्वेबाट हुँदै आएको अवैध ओसारपोसार विरुद्ध लाग्नुको सट्टा उनी सुरक्षाकर्मीको दोष लगाउँदै पन्छिदै आएको छन् । व्यवस्थापक गम्भीर नहुँदा नेपालको गौरवको रुपमा रहेको एकमात्र रेलसेवाको बदनामी अन्तर्राष्ट्रिय स्तरमा हुने चिन्ता बढेको छ ।

प्रतिक्रिया