मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका २ विना विभागीय मन्त्रीले राजीनामा दिएका छन् ।

पार्टीको निर्देशनमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका हुन् ।

भूमि व्यवस्था, कृषि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका कुशवाहा र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले जेठ ९ चौथो पटक मन्त्री परिषद् विस्तार गर्दा जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । आर्थिक वर्षको अन्तिम चरणमा उनको मन्त्रालय खोसेर नेकपा एसका गोविन्द न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री यादवले आज पाँचौ पटक मन्त्रीपरिषद् विस्तार गर्न लागेको छ । जनमतले विना विभागीय दुवै मन्त्रीलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी गरेको पार्टीका एक नेताले जनाएको छ ।

मुख्यमन्त्रीले आफ्नो मातहतमा दुईवटा मन्त्रालय राखेको छ । उनले गृह, सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफुसँग राखेका छन् ।

दुईवटा मन्त्रालय मध्ये गृह काँग्रेसलाई र जनमतलाई श्रम तथा यातायात मन्त्रालय दिने सम्भावना छ ।

बाँकी दुईवटा मन्त्रालय मध्ये मुख्यमन्त्री यादवले एउटा काँग्रेस र एउटा जनमतलाई दिएपछि जसपाका विना विभागीय मन्त्री सुरिता कुमारी साहलाई पार्टीले राजीनामा दिन लगाउने बुझिएको छ ।

प्रतिक्रिया