जानकी मन्दिरबाट मुख्यमन्त्री यादवको ब्यानर च्यात्ने पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणबाट मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर च्यात्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार बिहान मुख्यमन्त्रीको ब्यानर च्यात्ने सरोज मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ ।
उनका अनुसार ब्यानर च्यात्ने आरोपित मिश्रलाई अनुन्धानको लागि ल्याइएको थियो । उनले सरसफाइको क्रममा ब्यानर हटाएको तर अब पछि यस्ता किसिमको गतिविधि नगर्ने लिखित रुपमा कागजात गरेपछि छोडिएको डीएसपी गौतमले बताए ।
पक्राउ परेका मिश्रले कमिकमजोरी महसुस गर्दै लिखित रुपमा कागजात गरेपछि र मुख्यमन्त्री कार्यालयबाट पनि छोडिदिन जानकारी आएपछि छोडिएको उनले बताए । उनलाई दुईघण्टा पछि छोडिएको छ ।
मन्दिरको प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्व र सौन्दर्यतामा आँच आएको भन्दै युवाहरुले ब्यानर हटाएको थिए ।
पक्राउ परेका मिश्रसहितका युवाहरुले मुख्यमन्त्रीका साथै त्यहाँ राखिएको होण्डा मोटरसाइकल कम्पनीको ब्यानर समेत च्यातेर हटाएको थियो ।
कानून विपरीत मुख्यमन्त्रीको ब्यानर हटाइएको भन्दै मुख्यमन्त्री कार्यालयबाट दबाब आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।






