एनवाईईएफ युवा उद्यमीहरूले गरे औद्योगिक भ्रमण

वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) अन्तर्गत जनकपुरधाम र वीरगन्जका युवा उद्यमीहरूले औद्योगिक भ्रमण गरेका छन् । करिब ४० युवा उद्यमीहरूले वीरगन्जस्थित पतञ्जली आयुर्वेद प्रालि र मारुती पेपर उद्योगको भ्रमण गरेका हुन् । युवा उद्यमीहरूबीच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारका लागि यो भ्रमण गरिएको एनवाईईएफले जनाएको छ ।
त्यसक्रममा स्वागत कार्यक्रम पनि गरिएको थियो । जनकपुरका उद्यमीहरूको स्वागत गर्दै एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले यो भ्रमणले उद्यमबारे नयाँ विषयवस्तुको जानकारी र युवा उद्यमीबीच व्यक्तिगत सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए । त्यस्तै एनवाईईएफ जनकपुरका अध्यक्ष डा. सोनु साहले भ्रमणबाट उद्यमसम्बन्धी नयाँ विषयको जानकारीसँगै व्यक्तिगत सम्बन्ध प्रगाढ हुने बताए ।
एनवाईईएफ वीरगञ्जका निवर्तमान अध्यक्ष राकेश साहले उद्यमीहरूले व्यावसायिक सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने धारणा व्यक्त गरे । औद्योगिक भ्रमणका क्रममा पतञ्जली अयुर्वेदका व्यवस्थापक युवराज सुवेदीले नेपालमा जडीबुटीको पर्याप्त उपलब्धता रहेको भन्दै त्यसको अपेक्षित उपयोग हुन नसकेको बताएका थिए ।
युवा उद्यमीहरूले नेपालकै ठूलो मारुती पेपर उद्योगको पनि भ्रमण गरे । सो अवसरमा उद्योगका प्रबन्ध निर्देशक दीपेश अग्रवालले यो उद्योगले खेर गइरहेका पुराना कार्टुन प्रोसेसिङ गरेर क्राफ्ट पेपर उत्पादन गर्दै आएको जानकारी दिए ।
औद्योगिक भ्रमणपछि सहभागीहरूबीच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो ।






