देशभर सहुलियत पसल आजबाट सञ्चालन हुँदै, यी कुरामा पाइनेछ छुट

सरकारले चाडवाड लक्षित सहुलियत पसल आजदेखि देशैभर सञ्चालन गर्दैछ। दसैं, तिहार, छठलगायतका चाडवाडको बेला सरकारले हरेक वर्ष उपभोक्तालाई सहज होस् भनेर दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन गर्दै आएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सुरु गर्ने सहुलियत पसल आगामी मङ्सिर ३ गतेसम्म सञ्चालनमा रहने छ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तर कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

चाडपर्वको समयमा उपभोक्ता बजारमा निजीक्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

ती कम्पनीका काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जानकारी प्रवक्ता शर्मिला न्यौपानेले दिइन् ।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेलमा प्रतिकिलोरप्रतिलिटर सात रूपैयाँ, कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रूपैयाँ छुट पाउनेछन् ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रू एक करोड छुट्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो रू ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो रू दुई र तेल तथा चिउरामा प्रतिकिलो रू सात छुट दिनेछ।

त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रू २०, पनीर प्रति दुई सय ग्राममा रू २० र प्रति पाँच सय ग्राममा रू ५० छुट दिनेछ। उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले आज थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रूपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया
    ट्याग: