भूमि लोक महोत्सव : जब मानियाले एक मुठ्ठी चाउर दे घुर्मी नचादे गाएपछी…

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार भूमि लोक महोत्सव सम्पन्न भएको छ । भारतका भोजपुरी ईण्डस्ट्रीका दिग्गज एवं चर्चित लोक गायिका कल्पना पटवारीसहितका कलाकारहरु आफ्नो बेजोड प्रस्तुतीहरु दिएका छन् ।

सम्भवतः जनकपुरधामको इतिहासमा एउटै मञ्चमा नेपाली, मैथिली, हिन्दी, भोजपुरी, असमिया भाषामा पहिलो पटक यो महोत्सवमा गीत संगितहरु चर्चित कलाकारहरुले गाए । लोक गीत संगितहरु लोप हुने अवस्थामा रहेको र छाडा गीत संगितहरुले स्थान लिरहेको बेलामा यो महोत्सवले साकारात्मक संदेश दिएको महोत्सवमा सहभागी बुद्धिजीव वर्गका व्यक्तिहरु बताउँछन् ।

मधेस प्रदेश नीति आयोगका सदस्य डा. सोहन साहले मधेसमा विकराल रुप लिरहेको अर्केस्ट्रा जस्तो विकृतिलाई टक्कर दिँदै फरक फर्मेटमा सम्पन्न महोत्सवले संस्कृति सुधारको लागि गतिलो उदाहरण बनेको बताएका छन् । उनले समुदायबाट भएको यो प्रयासलाई प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने बताए । डा. साहले कुनै पनि शहरलाई रोमाञ्चक स्थलको रुपमा विकसित गर्न यस्तो महोत्सवले ठुलो भूमिका खेल्ने उनले कार्यक्रमको बारेमा प्रतिकृया जनाएका छन् ।

आयोजक संस्थाले तय गरेको ७ घण्टे कार्यक्रममा नेपाल भारतका चर्चित कलाकार र ब्याण्डहरुले महोत्सवलाई भव्य बनायो । कार्यक्रममा अन्य कलाकारहरुले आफ्नो प्रस्तुती दिँदै गर्दा करिब मधेसका चर्चित र्यापर मानियाले पनि आफ्नो प्रस्तुति दिए ।

मुलुक आधुनिकतामा प्रवेश गर्नुअघि करिब एक दशकभन्दा अगाडी गाउँघरमा बच्चाहरुले एकआपसमा खेल्दा प्रयोग गर्ने एउटा चर्चित रमाइलो लय हो ‘एक मुट्ठी चाउर दे घुर्मी नचादे’ । सोही शब्दलाई रचेर गीतका रुप दिए र्यापर मानिया । भव्य आयोजना भएको भूमि लोक महोत्सवमा सो गीत मानियाले गाएपछी जनकपुरधाम झुम्यो ।

महोत्सवमा सहभागी करिव पाँच हजारभन्दा बढी दर्शकको ठूलो ताली गुन्जियो । महोत्सवमा प्रस्तुती दिन आएका प्रसिद्ध कलाकारहरु पनि उसको प्रस्तुतिको उल्लेखनीय प्रशंसा गरेको बुझियो । झन उसले गाएको अर्को र्याप ‘एके फोर्टी सेभेन धाई धाई’ गीतले पनि दर्शकको राम्रो साथ पाए । यो कार्यक्रममा पहिलो प्रस्तुती रहेको मानियाको गीतहरु युटुवमा चर्चित छन् ।

लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्य र माटोपानीसँग जोडिएको गीत संगितहरु प्रस्तुत भएको यो कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनिष झा, गणेश पराजुली, मधेस प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलगायत विशिष्ट व्यक्तिहरु सहभागी भए ।

यो महोत्सवले धार्मिक एवं ऐतिहासिक सहर जनकपुरधामको शोभा बढाउने र सबै जात धर्मलाई एकत्रित गर्न मद्दत पुग्ने सहभागी प्रतिनिधि सभा सदस्य मनिष झाको भनाइ छ ।

यस्तै स्थानीय लोक गीतको साथ साथै स्थानीय कलाकारहरुमा भएको प्रतिभालाई उजागर गर्न यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष एवं साङ्गीतिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झाले बताए । लोप भईरहेको पारम्परिक गीतहरुको जगेर्नासमेत यस्तै कार्यक्रमबाट हुने उनको दाबी छ ।

उनले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिने उनले बताए ।

महोत्सवमा मिथिला पेन्टिङ, देशमै लोकप्रिय जनकपुरधामको माछासहितको स्टल समेत राखिएको थियो । मिथिलाञ्चल क्षेत्रमा माछालाई शुभको प्रतीक मानिन्छ ।

महोत्सवमा मधेस र मिथिलाको झल्को दिने विभिन्न लोक नृत्यहरु थारु नाँच, झिझिया नाँच, काल भैरव नाँच र छठको गीतहरु गुन्जियो ।

कलाकार मानियापछि नेपालमा मात्रै चर्चित होईन २०२३ को एसियाकपमा क्यूट नेपाली गायिका भनेर चिनिएकी डा.त्रिशला गुरुङको प्रस्तुतीले पनि बेजोड थियो । उनको पहिलो प्रस्तुती ‘दाईले कुरा लाईदिने सातो खाईदिने’ गीतले महोत्सवलाई गुन्जयामान बनायो । झन उनको ‘गैरी खेतको शिरै हान्यो’ गीत र रातो र चन्द्र सुर्य गीतमा हुटिङ्ग गर्दै उनको गीतसंगै गाउँदै र नाच्दै दर्शकहरु रमाए ।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित महोत्सवमा उनको श्रीमानसहितको ब्याण्डको प्रस्तुतिले दर्शकलाई उत्साहित नै बनायो ।

त्यसपछि उनको प्रस्तुति नसक्दै महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको भारतको चर्चित लोक गायिका कल्पना पटवारीको लागि हुटिङ्ग गरे । स्टेजमा आउँदै पटवारी नेपाल र माता सिताको जन्मभूमि जनकपुरधाममा आउन पाएकोमा खुशी व्यक्त गरिन् । उनले स्टेजबाटै पशुपतिनाथको मन्दिर कति टाढा छ भनेर सोधिन र गाईन उनको चर्चित गित मध्येका छठको गित ‘मारबौ रे सुगवा धनुष से सुगा गिरी मुरछाई’ । मिथिलाञ्चलमा विशेष आस्थाको पर्व मानिने छठको गित उनले गाएपछि दर्शकहरु मनमुग्ध भए । त्यसपछि उनको एकपछि अर्को बेजोड प्रस्तुतिले दर्शकको मन थामिएन । गायिका पटवारीको गितसँगै सहभागि सबै दर्शकहरु नाँच्न र गाउन थाले । महोत्सव हेर्न आएकी विदेशीहरु पनि उनको गितमा रमाए ।

महोत्समा उनीसहित मधेसका चर्चित गायत ललित कामत, शिवानी भगत, देव अहिरावलगायतका दर्जन बढी चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिए ।

कार्यक्रम सँचारकर्मी घनश्याम मिश्रा र मिताली भारदवाजले संचालन गरे । शुक्रबार दिउँसो करिब २ बजेदेखि सुरु भएको कार्यक्रममा कलाकारहरुले दर्शकहरुको राम्रो साथ पाएपछि करिब १० बजेसम्मनै जारी रह्यो ।

महोत्सवमा सहभागि व्यक्तिहरुले निकै राम्रो प्रतिकृया दिएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु निरन्तरता पाउनुपर्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया