बहिरङ्ग लगायतका सेवा नियमानुसार सञ्चालन नगरे कारबाही गर्ने सरकारको चेतावनी

सरकारले बहिरङ्ग सेवा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिनबाहक हरेक दिन नियमानुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म (कार्तिक १५ देखि माघ १५ गतेसम्म ४ बजेसम्म) बहिरङ्ग सेवालगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

मन्त्रालयले बहिरङ्ग सेवालगायत स्वास्थ्य सेवाहरू नियमानुसार बिहान १० बजेदेखि ५ बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगम गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन पनि सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र सर्वसाधारणलाई आग्रह गरेको छ ।

अस्पताल लगायतका संस्थामा सरकारले भने अनुसारको सेवा प्रवाह नभएपछि पुरानै निर्देशन दोहोर्याएको हो ।

प्रतिक्रिया
    ट्याग: