जानकी मन्दिरको दायित्व सरकारले लिनुपर्छ : पर्यटन मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले जानकी मन्दिरको दायित्व सरकारले लिनुपर्ने बताएकी छिन् । मुलुककै गौरव रहेको मन्दिरलाई हेर्ने ६ वटा निकाय भएपनि व्यवस्थित नहुँदा यसको सम्पूर्ण दायित्व सरकारले लिनुपर्ने उनले बताईन् ।

विकासको मोडेलमा लगेर मन्दिरलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । मन्त्री यादवले मन्दिरको भेटी, सम्पत्ति लगायत केही पनि पादर्शी नरहेको हुँदा त्यसलाई व्यवस्थित गर्दै पर्यटक भित्र्याउन निकै जरुरी रहेको हुँदा यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताईन्।

गुठी, वृहत्तर, प्रदेश सरकार र संघ सरकार रहे पनि मन्दिर अव्यवस्थित, मन्दिरमा चढेको भेटीको हिसाब किताब र सम्पत्तिको पनि कुनै लागत नरहेकोले त्यसलाई व्यवस्थित पार्न सरकारले हस्तक्षेप गर्नुपर्ने उनले बताईन् । ‘यो बारेमा संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीसँग पनि समन्वय गरिरहेको छु, उनले भनिन्, मन्दिरलाई ट्रष्टमा लगेर विश्व सम्पदा सूचीमा लग्ने लगायतका विषयमा छलफल भईरहेको छ ।’ जानकी मन्दिरलाई मात्रै होईन मधेश प्रदेशमा रहेको ऐतिहासिक महत्वका धार्मिक स्थलहरु, छिन्नमस्ता, महागढीमाई, सल्हेश फुलवारी लगायतका पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी प्रदेशमा पर्यटक भित्र्याउने तयारी भइहेको मन्त्री यादवले बताईन् ।

उनले पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष जस्तै जानकी मन्दिरलाई जानकी विकास कोष गठन गरेर व्यवस्थित गरी मन्दिरको सम्पत्ति पनि पादर्शी गर्नुपर्ने बताईन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणको क्रममा रामायण सर्किटको लागि घोषणा गरेको १०० करोड अनुदानको विषयमा पनि छलफल चलिरहेको बताईन् ।

प्रतिक्रिया