पाठेघरको मुखको क्यान्सर : प्रत्येक दिन ६ जनाको मृत्यु, यस्तो छ सरकारको तयारी

काठमाडौं । महिलाको मृत्यु गराउनेमध्येको प्रमुख कारणमध्येको एक हो, पाठेघरको मुखको क्यान्सर । ग्लोबल क्यानको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक दिन कम्तिमा ६ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गर्छ ।

नेपाल लगायत गरिब मुलुकका महिला अझ बढी यसका कारण प्रभावित हुने गर्छन् । कारण, हामीसँग पर्याप्त खोप र खोपको पहुँच छैन भने जनचेतनाको पनि अभावले समयमै पहिचान र आर्थिक स्थितिका कारण उपचार गराउन सक्दैनौं ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक १ लाख महिलामध्ये १६ जना पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुन्छन् र प्रत्येक १ लाख महिलामध्ये ११ जना महिलाको यसकै कारण मृत्यु हुन्छ । यसलाई न्यूनिकरण गर्न सरकारले गत भदौ २७ मा देशभर रहेका ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगायो ।

सात प्रदेशका ७ अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोपको २० हजार भाइल नेपाल सरकारले खरिद गरेर ल्यायो । तर, ९ हजार ५ सय जनालाई मात्रै लगाइयो ।

सरकारको तथ्याङ्क अनुसार नेपालमा ९ देखि १४ वर्ष उमेर समूहका झन्डै १७ लाख किशोरीहरू छन् । ती सबैलाई खोप लगाउन सरकारले तयारी गरिरहेको छ ।

आगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने सरकारको तयारी
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने तयारी गरिरहेको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले आर्थिक वर्ष २०८१/०८२ मा एचपीभि खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नेगरी तयारी भइरहेको बताए ।

उनले सरकारले आफैले खरिद गरेर ल्याउनुपर्ने भएकाले केही समय लाग्ने र आगामी आर्थिक वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नेगरी तयारी भइरहेको बताए ।

उनले भने, ‘सरकारले गत भदौमा लगाएको एचपीभि खोप परीक्षणको रुपमा मात्रै लगाइएको हो । जसको दोस्रो डोज चैत्रमा लगाइने छ । र, सरकारले महिलाहरूको मृत्यु हुने कारणमध्येको प्रमुख पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरण गर्न राष्ट्रिय खोप कार्यक्रममा नै यो खोप समावेश गर्ने तयारी गरिरहेको छ ।’

एचपीभि खोप किन ?
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.अरुण शाहीका अनुसार ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपीभिको भ्याक्सिन लगाउनु राम्रो हो । यसले पाठेघरको मुखको क्यान्सरबाट ८० देखि ९० प्रतिशतसम्म जोगाउन मद्दत पुग्छ ।

पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।

डा.शाहीका अनुसार विभिन्न अध्ययनका अनुसार ९९.९ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’ कै सङ्क्रमणले गर्दा हुन्छ ।

त्यसैगरी, १ प्रतिशत सानो उमेरमा  विवाह गरे, असुरक्षित यौनसम्पर्क, सानै उमेरमा धेरै बच्चा जन्माउने, सरसफाइको कम, धूमपान गर्ने महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा बढी हुने डा.शाहीको भनाइ छ ।

फोहोर गनाउने पानी आउने, योनी वरिपरि घाउखटिरा आउने, यौनसम्पर्कपछि रगत देखिने, महिनावारीको बीचबीचमा रगत देखिनु, ढाड, कम्मर, तल्लो पेट दुख्नु, हातखुट्टा सुन्निने जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जान उनको सुझाव छ ।

डा.शाहीले ह्युमन प्यापिलोमा भाइरस ६, ११, १६, १८, ३१, ३३, ४५, ५२ र ५८ नम्बरमा गरी विभाजन गरिएको भन्दै १६ र १८ नम्बरको भाइरस सबैभन्दा बढी खतरनाक हुने गरेको बताए । उनका अनुसार १६ र १८ नम्बरको भाइरसले ७० देखि ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउँछ । यस्तै ३१ र ३३ नम्बरको भाइरसले ८ देखि १० प्रतिशत क्यान्सर गराउने गर्छ ।  

क्यान्सर लाग्नुभन्दा लाग्नै नदिनका लागि एचपीभि खोप सुरक्षित रहेको र खोप लगाउनु मात्रै पाठेघरको मुखको क्यान्सरबाट जोगिने राम्रो विकल्प रहेको उनले बताए ।

डा.शाहीले एकजनाले यसको कम्तिमा २ मात्रा लगाउन पनि ८ देखि १० हजार खर्च गर्नुपर्ने तथा सबैको पहुँचमा खोप नहुने भएकाले सरकारले यसलाई निःशुल्क लगाउन सुरु गरेको हुँदा सबैलाई अनिवार्य खोप लगाउन पनि आग्रह गरे ।

डा.शाहीका अनुसार हाल नेपाल सरकारले लगाइरहेको खोपले १६ र १८ अनि ३१ र ३३ नम्बरको भाइरसविरुद्ध मात्रै काम गर्ने भएकाले उमेर पुगेका सबैलाई खोप लगाउन आग्रह गरे ।
उनले चौथो चरणसम्मको पाठेघरको मुखको क्यान्सर निको हुन सक्ने भएकाले समयमै यसको परीक्षण र उपचार गराउन पनि सल्लाह दिए ।

खोप सुरक्षित भएकाले खोप सबैले लगाउनुपर्नेमा उनको जोड छ । तर, जसको उमेर नाघिसकेको छ उनीहरूले बेलाबेलामा स्क्रिनिङ गराउनुपर्ने, क्यान्सर पत्ता लाग्नासाथ उपचार गराइहाल्नुपर्ने उनको भनाइ छ ।

सन् २०३० सम्म संसारबाट निर्मुल गर्ने लक्ष्य
विश्व स्वास्थ्य सङ्गठनले अबको ६ वर्षमा संसारबाटै पाठेघरको मुखको क्यान्सरलाई निर्मुल गर्ने लक्ष्य राखेको छ ।

सङ्गठनले गुरु योजना तयार पारेर सन् २०३० सम्म ९ देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीहरूलाई एचपीभि खोप लगाइसक्ने लक्ष्य राखेको छ । यस्तै सो उमेर समूहभन्दा माथिकाले बेलाबेलामा स्क्रिनिङ गर्नुपर्ने र उपचार गर्नुपर्ने गुरु योजनामा समावेश गरिएको छ ।

सङ्गठनले हालसम्म सर्भिक्स, सिकोलिन, गार्डासिल र गार्डासिल–९ भ्याक्सिनलाई मान्यता दिएको छ । जसमध्ये नेपालमा सिकोलिन नामक पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको थियो । 

प्रतिक्रिया