सुरु भयो काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको सुनौलो धाराबाट खसेको मेलम्चीको पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधवारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए।

मेलम्चीको पानी उपत्यकामा पहिलो पटक २०७७ चैतमा वितरण गरिएको थियो।

प्रतिक्रिया