किन भारत भ्रमणपछि ‘मधेस आन्दोलन’को तयारी गर्दैछन् राजेन्द्र महताे ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गरी नेपाल फर्किएका हुन् ।

महतोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने चाहना गरे पनि मोदीसँग भेट्न नसकेको महतोका निकट नेताहरु बताउँछन् । महतो भारतबाट फर्केपछि निकै उत्साहित देखिन्छन् । आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने तयारीमा उनी जुटेका छन् । लोसपाबाट विद्रोह गरेपछि माघ ५ गते नै उनी मधेसमा एउटा अभियानको सुरुवात गर्ने तयारीमा जुटेका थिए ।

तर सोही तयारीको क्रममा दौडधुप गर्दा तयारी नपुगेपछि माघ ५ को समयसीमालाई सारिएको स्रोतले दाबी गरेको छ । महतो निकट एक नेताका अनुसार माघ महिनाभित्रै आन्दोलन सुरु हुनेछ । ‘आन्दोलनकै तयारीका लागि भारतलगायत विभिन्न ठाउँमा दौडधुप तथा भेटघाटले गर्दा तयारी पूरा भएको छैन, सम्भवतः माघभित्रै कुनै न कुनै रुपमा अभियानको घोषणा गर्ने तयारी तीव्र रुपमा चलिरहेको छ,’ स्रोतले भन्यो ।

त्यसका लागि लगभग डकुमेन्टहरु तयारी भइसकेको बताइएको छ । महतोले आफ्ना निकट नेताहरुलाई सम्पर्क गरी काठमाडौँ आउन भनिरहेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बनाएको केन्द्रीय समितिप्रति असन्तुष्टि जनाउँदै सो पार्टीमा महतोले विद्रोह गरेका छन् । अब लगभग लोसपामा नबस्ने निश्चित नै गरिसकेका छन् । केन्द्रीय समितिको बैठक बहिष्कार गरी पार्टीमा विद्रोह गरेपछि महतो न पार्टी कार्यालय गएका छन्, न महन्थ ठाकुरको सम्पर्कमा छन् । 

प्रतिक्रिया