आयल निगम हाकिमको असूली धन्धा, कार्यालय सहयोगी मार्फत् यसरी गर्छन् असूली

करारका कार्यालय सहयोगीहरुलाई विभागको जिम्मेवारी !

जनकपुरधाम । आयल निगम महेन्द्रनगर धनुषाका प्रमुखले अवैध तरिकाले मासिक लाखौँ असूली गरिरहेको खुलासा भएको छ । कार्यालय सहयोगी खटाएर डिपो प्रमुख दिलीपकुमार चौधरीले पेट्रोल पम्पहरुबाट मासिक लाखौँ असूली गरिरहेको स्रोतले जनाएको छ ।

कार्यालयमा उपल्लो तहको स्थायी कर्मचारी हुँदाहुँदै पनि करारका कार्यालय सहयोगीहरुलाई विभागको जिम्मेवारी दिएर डिपो प्रमुख चौधरीले अनियमितता तथा असुलीमा व्यस्त रहेको पाइएको छ । करारका कार्यालय सहयोगीहरुलाई माग र आपूर्तिको जिम्मेवारी दिएर चौधरीले असूली आतंक मच्चाएका हुन् ।

नेपाल आयल निगम लिमिटेड डिपो कार्यालय महेन्द्रनगर धनुषामा १६ वर्षदेखि करारमा कार्यरत कार्यालय सहयोगी कुशेश्वर महतोको रवाफ कार्यालय प्रमुख भन्दा कम छैन । उनले नै चाँजोपाँजो मिलाएर डिपो प्रमुख चौधरीको प्रत्यक्ष निर्देशनमा असुनली गर्ने गरेको डिपो स्रोत बताउँछन् । महतोले कार्यक्षेत्रभित्र पर्ने पेट्रोल पम्पहरुसँग सेटिङ्ग गरि हाकिमका लागि भन्दै असुली गरिरहेको स्रोत बताउँछन् ।

धनुषा तथा महोत्तरी र सिन्धुलीको एउटा पेट्रोल पम्प गरी जम्मा ८६ वटा पेट्रोल पम्प नेपाल आयल निगम डिपो कार्यालय महेन्द्रनगरको कार्यक्षेत्रभित्र पर्छन । कार्यालय सहयोगी महतोले ८६ वटै पेट्रोल पम्पबाट मासिक रकम असूली गरेर डिपो प्रमुख चौधरीलाई बुझाउने गरेको डिपो कार्यालय स्रोत बताउँछन् ।

माग र आपूर्तिको तालमेलमा माहिर मानिएका कार्यालय सहयोगी महतोले ८६ वटै पेट्रोल पम्बाट असूली गरिरहेको स्रोतले बताए । डिपो स्रोतका अनुसार डिपोमा जुनसुकै डिपो प्रमुख आएपनि सबैको विश्वास पात्र महतो बन्ने गरेका छन् । त्यस डिपोमा डिपो प्रमुखहरुको विश्वास पात्र बनेका महतोको पद कार्यालय सहयोगी भए पनि माग र आपूर्तिको जिम्मेवारी सम्हाल्ने गरेका छन् । एउटा पेट्रोल पम्पबाट ४-५ हजार रुपैयाँसम्म मासिक रुपमा असूली गरिरहेको बुझिएको छ । जसले मासिक रकम बुझाउदैनन् उसको आपूर्तिमा कटौती गर्ने गरेको श्रोतले बताएको छ ।

कार्यालय सहयोगी महतोलाई माग र आपूर्तिको जिम्मेवारी दिएजस्तै असूली गर्नकै लागि कार्यालयका सवारी चालक मनोज सिंहलाई अपरेसन ईन्चार्जको जिम्मेवारी दिईएको छ । कार्यालय उपल्लो तहका स्थायी कर्मचारीहरुलाई पाखा लगाई कार्यालय प्रमुख चौधरीले कार्यालय सहयागी तथा सवारी चालकलाइ महत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी दिएर असुलीमा व्यस्त देखिन्छन् । सिंह पनि आयल निमगमा करिब १२-१३ वर्षदेखि करारमा सवारी चालक पदमा कार्यरत छन् ।

यी दुबै जिम्मेवारी स्थायी प्रशासन सेवाका कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । तर डिपो प्रमुख चौधरी त्यसो नगरि असुली गर्न तथा तेल बेच्नकै निम्ति यस्तो गरिरहेको कार्यालय स्रोतको भनाई छ ।

बदमासीकै कारण सरुवा, पावर लगाएर फेरी फिर्ता !

सवारी चालक सिंहलाई बदमासीकै कारण २४ घण्टाभित्रै केही वर्ष अघि डिपोका प्रमुख मोहन साहले कारवाही स्वरुप सरुवा गरेर अमलेखगञ्ज पठाइएको थियो । उनलाई करिब ४ वर्ष पहिले २४ घण्टे सरुवाको चिट्ठी थमाएर अमलेखगञ्ज पठाइएको थियो । तर कमाउन नपाएर उनी त्यहाँ धेरै दिन त्यहाँ टिक्न सकेनन् । नेकपा माओवादी केन्द्रका महासचिव मातृका प्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला उनलाई सरुवा गरि फेरी जनकपुर रिफ्युलिंग सेन्टरमा ल्याइएको थियो । सेटिङ्ग गर्नमा माहिर सवारी चालक सिंह त्यसको केही समयपछि निगमको डिपो कार्यालय महेन्द्रनगरमा फेरी हाजिर भए ।

सवारी चालक सिंहलाई माग र आपूर्तिको जिम्मेवारी तथा डिपोको लेखा शाखामा लेखा सहायकको जिम्मेवारी कार्यालय सहयोगी महतोलाई दिइएको छ । लेखा जस्तो संवेदनशील शाखामा कार्यालय सहयोगीलाई लेखा सहायकको जिम्मेवारी दिनुले नै कार्यालय प्रमुख चौधरीको नियत झल्किन्छ ।

प्रमुखकै कारण निगमलाई ठुलो क्षति !

डिपो प्रमुख चौधरीकै कारण नेपाल आयल निगमलाई ठुलो क्षति भईरहेको छ । पेट्रोल र डिजेलको भण्डारण हुने यो डिपोबाट इन्धनको मूल्य घट्नु भन्दा केही दिन अगावैदेखि आपूर्ति रोकिन्छ । तर, इन्धनको मूल्य बढ्ने बेला अन्तिम दिन रातिको अन्तिम समयसम्म आपूर्ति हुने गरेको देखिन्छ । जबकी कार्यालय समयभित्रै आयात र निर्यात गर्नुपर्ने हुन्छ ।

पेट्रोलको मूल्य बढ्ने र घट्ने सूचना चुहावट कार्यालयबाटै हुने गरेको एक पेट्रोल पम्प सञ्चालकले बताए । सूचना पाएपछि व्यवसायीहरूले एक ट्यांकरको ठाउँमा चारवटासम्म खरिद गर्ने गरेको उनको भनाइ छ । कतिपयले त तेल हुँदाहुँदै पनि पेट्रोल पम्प बन्द गर्ने गरेको स्थानीहरूको गुनासो छ ।

नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर धनुषा डिपोका प्रमुख दिलिप चौधरीले स्थायी कर्मचारी र करार कर्मचारीहरुलाई सँगसँगै जिम्मेवारी दिइएको बताए । उनले स्थायी कर्मचारीको सहयोगीको रुपमा करारका कर्मचारीहरुलाई पनि खटाइएको तर करारकै कर्मचारीलाई मात्रै जिम्मेवारी दिइएको कुरा सत्य नभएको बताए ।

उनले बजारमा माग अनुसार आपूर्तिका लागि सहयोगी कर्मचारीहरु खटाइएको पनि बताए ।

प्रतिक्रिया