दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएको छ । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गरे ।
जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापन समेत आवश्यक भएको बताउनुभयो । उहाँले चिकित्सकलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिए ।
उपप्रधानमन्त्री यादवले भने, “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाका लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो । मिथिलावासीले प्रमाणित गरेर देखाउनुपर्दछ ।” मधेस प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले जनकपुरधाम, राजविराज र वीरगञ्जमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भइरहेकोे बताए। करिब रु १४ करोडको लागतमा निर्मित ७५ शय्याको बर्थिङ सेन्टरको शिलान्याससमेत उपप्रधानमन्त्री यादवले नै गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा अङ्कुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, सङ्घीय स्वास्थ्य सचिव डा रोशन पोखरेल, अमेरिकी राजदूत डिनआर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितलगायतको उपस्थिति रहेको थियो ।






