जनकपुरमा प्रथम अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन, सम्भावना र अवसर खोज्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ।
संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा फागुन १६ देखि १८ गतेसम्म जनकपुरमा महोत्सव हुने जानकारी दिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला चलचित्रलाई विश्वभर बजारीकरण गर्न महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे। उनले भने, “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ। महोत्सवले यसलाई उजागर गर्दै एक सय ३७ भन्दा बढी देशमा हाम्रो चलचित्रलाई चिनाउनेछ।” साथै, उनले पैसा कमाउने उद्देश्यले महोत्सव गर्न नहुने बताउँदै अन्य क्षेत्रको बजेट कटौती गरेर पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली सिनेमा निर्माण प्रक्रियामा सुधार गर्नुपर्नेमा जोड दिए। उनले महोत्सवले स्थानीय कथा खोज्न निर्माताहरूलाई प्रेरित गर्ने र नेपाली सिनेमाको दिगो विकास र अन्तर्राष्ट्रियकरणमा सहयोग पुग्ने धारणा राखे।
अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको चर्चा गर्दै महोत्सवले यसको महत्व उजागर गर्ने विश्वास व्यक्त गरिन्।
निर्माता माधव वाग्लेले मिथिला सभ्यताको चित्रण महँगो हुने भएकाले क्षेत्रीय कथामा आधारित चलचित्र निर्माण चुनौतीपूर्ण रहेको बताए।
चलचित्र निर्देशक सुवर्ण थापाले महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्दै बालबालिका, युवा र महिलालगायत सबै समूहलाई समेट्नुपर्ने आवश्यकता औंल्याए।
संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले महोत्सवको उद्देश्य नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने रहेको बताए। साथै, उनले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियानमा आफूहरू लागेको जानकारी दिए।
महोत्सवले नेपाली सिनेमाको विश्वव्यापी छवि निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।






