दीपक रौनियारको फिल्म ‘राजागंज’ मा मधेशको कथा, पत्रकार घनश्याम र आरतीको अभिनय

जनकपुरधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ यही चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ। प्रणय दिवसको अवसर पारेर फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरेको छ, जसले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ।
निर्माताका अनुसार ‘राजागंज’ पहिलो नेपाली फिल्म हो, जसमा मधेशको कथा, व्यथा र आन्दोलनलाई समेत समेटिएको छ। मधेश आन्दोलनका क्रममा सहभागी भएका वास्तविक आन्दोलनकारीहरूलाई समेत फिल्ममा देख्न सकिनेछ। प्रमुख पात्रहरूका रूपमा इन्द्रकुमार मधेशानन्द र सरोज मास (सरोज मिश्र) प्रस्तुत भएका छन्।
फिल्ममा पत्रकार घनश्याम मिश्र र आरती मण्डलले अभिनय गरेका छन्। मिश्रका लागि यो चौथो ठूलो पर्दाको फिल्म हो भने मण्डलले यसै फिल्ममार्फत अभिनय यात्रा सुरू गरेकी छन्। साथै, नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य रिंकु मिश्र ‘गायत्री’ मधेशकी एक नेत्रीको भूमिकामा देखिनेछिन्। उनकी छोरी अतिथि प्रिया पनि बाल कलाकारको रूपमा अभिनय गरेकी छन्।
यस फिल्ममा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्व मिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रंगकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेका छन्।
निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाईवे’ जस्ता फिल्ममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए। ‘राजागंज’ नेपाली सिनेउद्योगमा पृथक प्रस्तुति हुने अपेक्षा गरिएको छ। यस फिल्ममार्फत उनले मधेशी जनताको संघर्ष, आन्दोलन, पहिचानको खोजी तथा सामाजिक–राजनीतिक परिवेशलाई प्रस्ट्याउने प्रयास गरेका छन्।
रौनियारका अनुसार यो फिल्म मधेशको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजलाई दर्शाउने ऐनाजस्तो हुनेछ। उनी भन्छन्, “फिल्ममा हामीले मधेश आन्दोलनको पृष्ठभूमि मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गरेका छौं।”
मधेश आन्दोलनको ऐतिहासिक परिप्रेक्ष्यलाई कथात्मक रूपमा प्रस्तुत गर्ने ‘राजागंज’ ले नेपाली फिल्म उद्योगमा पृथक पहिचान बनाउने र दर्शकमाझ नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ। निर्देशक रौनियारले यो फिल्म मधेश र पहाडबीचको पुल बन्ने विश्वास व्यक्त गरेका छन्। साथै, फिल्मले नेपालमा प्रहरीलाई मात्र नकारात्मक रूपमा नदेखाई सकारात्मक दृष्टिकोणसमेत प्रस्तुत गर्ने प्रयास गरेका छन्।
नेपाली फिल्ममा महिलालाई जहिले पनि सहायक पात्रका रूपमा देखाइने परिपाटी तोड्दै, यस फिल्ममा महिला कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। प्रमुख अभिनेत्री रिचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा भनिन्, “यो त महिलाहरूको ’राजागंज’ ठुलो ग्याङ नै बन्ने भयो।” उनले ठट्टा गर्दै भनेकी छिन्, “यो त ‘राजागंज’ नभएर ‘रानीगंज’ हुनुपर्ने हो।“
फिल्म प्रदर्शन हुनु अघि नै युरोपका विभिन्न स्थानमा ‘पुजा सर’ नामले महिला सशक्तिकरणको सन्देशसहित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सहभागिता जनाइसकेको छ।
फिल्म चैत्र १ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुनेछ।






