सिरहामा रिंकु सदाय र प्रकृति लम्सालको न्यायको माग विद्यार्थीहरु गर्दै सडकमा

सिरहा । सिरहा जिल्लामा भएका दुई अलग–अलग घटनामा मारिएका रिंकु कुमारी सदाय र प्रकृति लम्सालको न्यायको माग गर्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ सिरहाका युवाहरूले शुक्रबार बिहान गोलबजारमा विरोध प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर गोलबजार बजार परिक्रमा गरेपछि गोलपार्क नजिक कोणसभा आयोजना गरे। उनीहरूले घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर’, ‘बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर’, र ‘जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु कुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ। घटनापछि स्थानीय स्तरमा पञ्चायत राखेर मिलाउने प्रयास गरिएको थियो, जसले पीडितलाई मानसिक तनावमा पारेको थियो।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टलको कोठामा मृत फेला परेकी थिइन्। उनले सुसाइड नोटमा ब्रेकअपपछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख गरेकी छन्। प्रकृतिको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
विद्यार्थीहरूले दुवै घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।






