सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

बरहथवा (सर्लाही)। यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि त्यहाँ तत्काल बरहथवा नगर अस्पताल पुगे। तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो ।

त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुगे । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरी निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाए । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाए।

शुक्रबार अस्पताल परिसरमा भेटिनुभएका उनले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताए । अस्पतालले रु दुई सय लिने भ्याक्सिन बाहिर रु छ सय ५० तिर्नु पर्दा महँगो परेको उनले बताए ।

“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उनले भने ।

चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उनले भने, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उनको भनाइ छ ।

बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उनलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु–याए । तर, उनले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाउनु भएन । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए ।

त्यसपछि उनी लालबन्दी नगरपालिकाको एक निजि क्लिनिकमा पुगेर भ्याक्सिन लगाए । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिए । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।

जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।

औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरेपनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउछन् । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भएपनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उनले बताए।

भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताए । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उनले बताए । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उनको भनाइ छ ।

गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उहाँले जानकारी दिए । अहिले अस्पतालमा रेबिज विरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उनले स्व्ीकारे ।

हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षितवर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए ।

प्रतिक्रिया