केआईआईटीमा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले गर्छन् आत्महत्या !

काठमाडौँ । कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बर्सेनि २५ देखि ३० जना विद्यार्थीले आत्महत्या गर्ने गरेको खुलासा भएको छ।

केआईआईटीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी जो घर फर्किन सकेनन् उनले नाम नबताउने शर्तमा सो खुलासा गरेका हुन् ।

उनले भने, ‘प्रकृति लम्सालको घटना पहिलो होइन । यसअघि पनि केआईआईटीका प्रायःजसो विभागमा अध्ययनरत विद्यार्थीमध्ये केही न केहीले आत्महत्या गर्ने गर्छन् । तर, यसपटक भने हाम्रो विरोधका कारण घटना बाहिरिएको हो । अन्यथा केआईआईटीले घटनाबारे यसरी लुकाउँछ की कसैलाई कुनै जानकारी नै हुँदैन ।’

गत फेब्रुअरी १६ मा नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेको विषयलाई पनि विश्वविद्यालय प्रशासनले ढाकछोप गर्न खोजेको तर, उल्टो नतिजा आएका कारण घटना बाहिरिएको ती विद्यार्थीले बताए ।

उनले थपे, ‘यसअघि केआईआईटीमा विद्यार्थीले आत्महत्या गर्दा विश्वविद्यालयले सबै इन्टरनेट बन्द गरेर शवलाई नै गायब गरिदिन्थ्यो । साथै आत्महत्या गरेको विद्यार्थीको रुममेटलाई ६ महिना वर्ष दिनका लागि घर पठाइदिने गर्थे भने उनको जाँच र एटेन्डेन्स सबै मेन्टेन हुन्छ भनेर आश्वासन दिने गर्छन् । हामीलाई पनि चुप लाग्न भनेको थियो तर, नमाने पछि घटना थप तनावपूर्ण बनेको हो ।’

प्रतिक्रिया