जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा

काठमाडौं । नेपाल सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार सम्बन्धित लाभग्राहीलाई कक्षा १ देखि स्नातक तहसम्मको शिक्षामा सहजीकरण गरिने भएको हो।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवार तथा गम्भीर÷अति गम्भीर घाइतेका परिवारका लागि शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो। यसबाट प्रभावित परिवारका बालबालिका तथा विद्यार्थीलाई आर्थिक अभावका कारण अध्ययनमा समस्या नहोस् भन्ने लक्ष्य राखिएको छ।
व्यवस्थाअनुसार सम्बन्धित लाभग्राहीले निःशुल्क शिक्षा प्राप्त गर्नुका साथै आवश्यकताअनुसार पोशाक तथा पाठ्य÷सिकाइ सामग्रीका लागि सहयोग प्राप्त गर्नेछन्। त्यस्तै, स्नातक तहमा अध्ययन गर्ने लाभग्राहीका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत वा अध्ययन गर्न चाहने सहिद परिवार तथा गम्भीर÷अति गम्भीर घाइतेका परिवारका सदस्यलाई मापदण्डअनुसार शिक्षण संस्थामार्फत आवश्यक सहजीकरण गरिने मन्त्रालयले जनाएको छ।
सरकारको यो व्यवस्थाले जेन–जी आन्दोलनका कारण परिवारका सदस्य गुमाएका तथा गम्भीर रूपमा प्रभावित परिवारका विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुन सक्ने परिवारका बालबालिका तथा युवालाई उच्च शिक्षासम्म पहुँच विस्तार गर्न यसले सहयोग गर्ने देखिन्छ।
सम्बन्धित लाभग्राहीले निःशुल्क शिक्षा तथा छात्रवृत्ति प्राप्त गर्न मापदण्डमा तोकिएका आवश्यक कागजात र प्रक्रियाअनुसार सम्बन्धित निकायमा आवेदन दिनुपर्नेछ। मन्त्रालयले मापदण्डबमोजिम कार्यक्रम कार्यान्वयन तथा लाभग्राही पहिचानको प्रक्रिया अघि बढाउने जनाएको छ।
यस व्यवस्थाले आन्दोलनमा सहादत प्राप्त गरेका तथा गम्भीर रूपमा प्रभावित परिवारका सदस्यको शैक्षिक भविष्य सुरक्षित गर्न राज्यको तर्फबाट सहजीकरण गर्ने प्रयासका रूपमा लिइएको छ।






