कतारबाट बोलाएर प्रेमीको क्रुर हत्या, तीन महिनापछि सनाखत

जनकपुरधाम। धनुषामा बोरामा शव भेटिएको युवकको तीन महिना पछि सनाखत भएको छ। मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव धनुषाको कमला नगरपालिका–६ का ३३ वर्षीय शहिद अन्सारीको भएको पुष्टि भएको हो। धनुषा प्रहरीले सार्वजनिक गरेको स्केच मृतककी श्रीमती अजिमा खातुनले पहिचान गरेपछि शवको सनाखत भएको जिल्ला प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या अनैतिक प्रेम सम्बन्धकै कारण भएको खुलेको छ। उनलाई मिथिला बिहारी नगरपालिका–६ की अनिता कुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर हत्या गरेका थिए।

कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। विदेशमा रहेका बेला अन्सारीले अनितासँग फोन संवाद गर्दै पैसा समेत पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। अनिताले अन्सारीकी श्रीमती बिरामी रहेको भन्दै फर्जी रिपोर्ट पठाएर उनलाई आकस्मिक छुट्टी लिएर नेपाल आउन बाध्य पारेकी थिइन्। मंसिर २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनले अनितालाई सम्पर्क गरेर बीपी राजमार्ग हुँदै मिथिला बिहारी नगरपालिकाको तारापट्टी सिरसिया पुगे। राति अनिताको घरमा पुगेका अन्सारीलाई बन्धक बनाइयो।

यसअघि नै अनिताले आफ्नो श्रीमान् राजकिशोरलाई पनि १५ मंसिरमा साउदीबाट नेपाल बोलाइसकेकी थिइन्। मंसिर २७ गते बिहान ११ बजे आफ्नै घरको सुत्ने कोठामा बन्चरोको प्रयोग गरी अन्सारीको हत्या गरिएको अनुसन्धानले देखाएको छ। शव जुटको बोरामा राखेर खोलामा फालिएको थियो।

शव सडगलेको अवस्थामा फेला परेका कारण तत्काल सनाखत हुन सकेको थिएन। प्रहरीद्वारा बनाइएको स्केच मृतककी श्रीमती अजिताले हेरेपछि मात्र शवको सनाखत हुन सक्यो। हत्या पछि राजकिशोर पुनः साउदी फर्किएका छन् भने उनकी श्रीमती अनिता प्रहरी नियन्त्रणमा छिन्। जिल्ला अदालत धनुषाबाट कर्तव्यज्यान मुद्दामा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया