समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राखेको छ।
जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उनले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताए।
मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पु¥याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताए।
मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्यटक प्रवद्र्धन गरी प्रदेशको आर्थिकस्तर वृद्धि गर्न सकिने धारणा राखे। उनले आफ्ना बालबालिकाको सीप र क्षमता पहिचान गरी अगाडि बढ्न अभिभावकलाई आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले जनकपुरधामको समग्र विकासमा पूर्वाधार निर्माण आवश्यकता रहेको भन्दै ती पूर्वाधारहरू बनाउन तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए। यहाँ अन्य चलचित्र छायाँकन हुने वातावरण तयार गर्न सबैको सहयोग आवश्यक रहेकोे उनले बताए।
जनकपुरधाम मुलुकका साथै विश्वमा पनि छुट्टैै पहिचान भएको क्षेत्र भएकाले प्रचारप्रसारका माध्यमबाट यहाँ अन्तरराष्ट्रियस्तरका चलचित्र निर्माणको वातावरण बनाएर यहाँको कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।
मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकुमार रायले हाम्रा धार्मिक, सांस्कृतिक र परम्परालाई चलचित्रका माध्यमबाट विश्व समुदायसम्म पु¥याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गरे।
नेपाली चलचित्र र यहाँका सम्पदालाई विश्व बजारमा पु¥याउन यस्ता महोत्सवको आवश्यकता पर्ने उनको भनाइ छ ।
प्रदेशसभाका सांसद रामसरोज यादवले समाजमा रहेका विकृतिहरूको अन्त्यका लागि चेतना जगाउने काममा चलचित्र सशक्त र सबल माध्यम रहेको धारणा राखे। प्रदेशसभाका सांसद दीपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाउँ भएकाले यसको विशेषतालाई विश्व समुदाय समक्ष पु¥याउने काममा चलचित्रको महत्वपूर्ण भूमिका रहने जिकिर गरे।

विश्व हिन्दू महासङ्घ नेपालका उपाध्यक्ष ज्योतसना साउदले यो महोत्सवले चलचित्र उद्योगलाई नयाँ उचाइमा पु¥याउने तर्क राखे। उनले चलचित्रमा देखाइने कतिपय सामग्री हाम्रै परिवेश र रहनसहनसम्बन्धी हुने भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी माध्यम बन्ने धारणा राखे।

फाउण्डेशनका अध्यक्ष कुमार भास्करको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उनले नेपाली चलचित्र र यहाँका परिवेशलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउने, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजी गर्ने, स्थानीय चलचित्र र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए।
कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गरेको थियो । मैथिली विकास कोषको भवनमा तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा १० विधाबाट चयन भएका कूल ७८ वटा फिल्म प्रदर्शन गरिने छन् ।






