ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

एएफपी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएकोे बताएका छन् ।
संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुँदाहुँदै पनि राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेपछि त्यसले जापानका लागि ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको उनले बताए ।
बिहीवार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्ने उनको भनाइ छ ।
इशिबाले शुक्रवार संसदमा सम्बोधन गर्दै भने, “यो कदमले जापानलाई आर्थिक रूपमा ‘राष्ट्रिय सङ्कट’ निम्त्याउनसक्ने हुँदा सरकारले सबै पक्षसँग मिलेर यसको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेको छ ।
उनले ट्रम्प प्रशासनसँग वार्ताका लागि ‘शान्त–नेतृत्वदायी’ दृष्टिकोणको लागि आह्वान गरे । अमेरिकाले यसै हप्ता लागू भएको जापानी कार आयातमा २५ प्रतिशत कर पनि लगाएको छ ।
बैङ्क अफ जापानका गभर्नर काजुओ उएदाले भने, “करले विश्व र राष्ट्रिय अर्थतन्त्रमा गिरावटको दबाब निम्त्याउन सक्छ ।”
सरकारका प्रवक्ता योशिमासा हयाशीले बिहीवार आफ्ना मन्त्रीहरूलाई करको ‘नजिकबाट अध्ययन गर्न’ र घरेलु उद्योगका लागि वित्तीय सहयोग र रोजगारीको सुरक्षासहित आवश्यक सबै कदम चाल्न निर्देशन दिएको बताए ।
जापान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (जेसीसीआई) ले ट्रम्पको करवृद्धिले जापानी अर्थतन्त्रमा गम्भीर असर पार्ने बताएको छ ।
जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एशोसिएशन (जामा) ले पनि विश्वको चौथो ठूलो अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेका आफ्ना सदस्यका लागि सरकारी सहयोगका लागि आह्वान गरेको छ ।
जामाका अनुसार यसका सदस्यले सन् २०२४ सम्ममा अमेरिकी उत्पादनमा ६६ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्, जसले एक लाख १० हजारभन्दा बढी प्रत्यक्ष अमेरिकी रोजगारी सिर्जना गरेको छ भने २२ लाखभन्दा बढीलाई सहयोग गरेको छ ।
ब्लुमबर्ग न्यूजका अनुसार जापानी कार निर्माताहरूले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग १४ लाख ५० हजार कारहरू ढुवानी गर्छन् ।
जापानले करिब १५ लाख कार सीधै संयुक्त राज्य अमेरिकामा निर्यात गर्दछ जबकि जापानी अटोमेकरहरूले अमेरिकामा ३३ लाख कार उत्पादन गर्छन् ।
जापानमा, अटो क्षेत्र एक प्रमुख उद्योग हो, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसहरूलाई रोजगार दिन्छ ।
जापानले गत वर्ष अमेरिका निर्यात गरेको २१.३ ट्रिलियन येन (१४२ अर्ब अमेरिकी डलर) को करिब २८ प्रतिशत हिस्सा सवारी साधनले ओगटेको थियो ।






