नक्कली डाक्टर बनेर मुटुको शल्यक्रिया गर्दा ७ जनाको मृत्यु, एकजना पक्राउ

एएफपी । भारतमा सातजना बिरामीको मृत्युको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
लण्डनको एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा आफूले काम गरेको भन्दै भारतमा ७ जनाको मुटुको शल्यक्रिया गरेपछि मृत्यु भएको विषयमा भारतीय प्रहरीले अनुसन्धान गर्दा एकजना पक्राउ परेका हुन् ।
मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताए ।
“उनका कागजातहरू नक्कली भएको पाइएको छ । अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भने ।
पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ ।
राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो ।
गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो ।
स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको नाम र पहिचान प्रयोग गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् ।






