टी–२० आई क्रिकेटः कतारलाई ८ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुआत

काठमाडौं । आजदेखि सुरु भएको टी–२० आई क्रिकेट प्रतियोगिता अन्तर्गको पहिलो खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।
हङकङमा भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो । जुन नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले नट आउट रहँदै ३७ रन जोडे ।
यस्तै आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रहमानले २ विकेट लिए ।
त्यसअघि कतारले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १५१ रन बनायो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रन बनाए । जुन जितका लागि काम लागेन ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक/एक विकेट लिए ।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।






