बलवा नगरपालिकाको सस्तो एम्बुलेन्स सेवा प्रभावकारी
तीन महिनामै तीन दर्जनभन्दा बढी लाभान्वित

महोत्तरी । बलवा नगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाबाट दर्जनौं नगरवासी उल्लेखनीय रूपमा लाभान्वित भएका छन्। तीन महिनाअघि सञ्चालनमा ल्याइएको यस सेवाबाट हालसम्म तीन दर्जनभन्दा बढी नागरिकले सुविधा लिएको बलवा नगरपालिकाका स्वास्थ्य संयोजक प्रमुख यमुना प्रसाद यादवले जानकारी दिए।
नगरपालिकाले अत्यधिक न्यूनतम भाडादरमा एम्बुलेन्स सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई सहज भएको छ। पहिले एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अन्य पालिका र नीजीबाट सेवा लिनुपर्ने बाध्यता थियो। बलवा नगरपालिका–२ बदियाका बिल्टु साह भन्छन्, “पहिला समयमै एम्बुलेन्स नपाइने, धेरै पैसा लाग्थ्यो। अब आफ्नै पालिकाको सेवा पाउँदा समय र खर्च दुवै बचत भएको छ।“
स्वास्थ्य शाखाका अनुसार बलवा नगरपालिकाभित्र एम्बुलेन्स सेवा २ सय रुपैयाँमा उपलब्ध छ भने काठमाडौं, चितवन, विराटनगर र धरानका लागि क्रमशः ७५००, ५०००, ५००० र ५००० रुपैयाँ तोकिएको छ। यो दर नीजि एम्बुलेन्स सेवाको तुलनामा आधा मात्र भएको स्वास्थ्य संयोजक यादवले बताए।
नगरप्रमुख रामविजय महतोले एम्बुलेन्स सेवा जनताको मौलिक आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको बताए। “हाम्रो प्राथमिकता स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने हो। एम्बुलेन्स नहुँदा समयमै उपचार पाउन कठिन थियो। अब नगरवासीले सजिलै सेवा लिन सक्ने वातावरण बनाएका छौँ,” मेयर महतोले भने।
उनले नगरपालिकाको स्रोत र जनशक्ति सीमित हुँदाहुँदै पनि नागरिकको हितलाई ध्यानमा राखी एम्बुलेन्स सेवा प्रभावकारी रूपमा विस्तार गरिएको बताए।
मेयर महतोले सेवा २४ घण्टा सञ्चालनमा रहेको जानकारी दिँदै आवश्यकता परेमा एम्बुलेन्स चालकको मोबाइल नम्बर ९८५४०५०५६३ मा सम्पर्क गर्न नगरवासीलाई आग्रह गरेका छन्। उनले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद नगरपालिका जनहितका लागि यस्ता सेवा निरन्तर सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता समेत जनाए।






