११ जना पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दावी

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले नेपालको असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपालीलाई कहाँ पुर्याउँछ भनेर प्रश्न गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा आफ्नो मन्तव्य राख्दै उनले नेपाल असंलग्न राष्ट्र भएकोले कसैप्रति पनि झुकाव राख्न नमिल्ने भएकाले सरकारले त्यसप्रति ध्यान दिन आवश्यक रहेको बताए ।

भारतको काश्मिरस्थित पहलगाममा भएको आक्रमण पछि भारत र पाकिस्तानबीच कुनैपनि समय युद्ध सुरु हुन सक्ने सम्भावना रहेको बेला नेपाल सरकारले पाकिस्तानी आर्मीको डेलिगेशन बोलाउनुको कारण उनले सरकारसँग माग गरे ।

कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट पाकिस्तानका एयर क्याडर मन्सुर अन्सारीको नेतृत्वमा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन मे ४ मा नेपाल बोलाएर सरकारले के सन्देश दिन खोजेको हो भनेर पनि उनले प्रश्न गरे ?

पाकिस्तानको मान्छे नेपाल आउन हुँदैन भन्ने आफ्नो भनाइ नरहेको तर, अहिलेको समय भने उचित नरहेको उनको भनाइ थियो ।

पहलगाममा नेपाली नागरिक पनि मारिएको बेला पाकिस्तानको आर्मी डेलिगेशन बोलाएर हामीले के सन्देश दिन खोजेका हौँ भन्नेमा उनको जोड थियो ।

प्रतिक्रिया