मिडिया काउन्सिल मधेस प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी यादवलाई

जनकपुरधाम। मधेस प्रदेश मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेश कुमार यादवलाई दिइएको छ। नवनियुक्त सदस्य यादवलाई बुधबार प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले औपचारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पत्र हस्तान्तरण गरे।
करिब तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार यादवलाई गत शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार, प्रदेश सञ्चारसम्बन्धी ऐन, २०७७ को दफा २९ को उपदफा (१) को (ख) तथा प्रदेश सञ्चार (पहिलो संशोधन) नियमावली, २०७७ को नियम १७ मा भएको व्यवस्था अनुसार काउन्सिलको सदस्यमा नियुक्त गरिएको थियो। त्यसपछि मन्त्रीस्तरीय निर्णयअनुसार तथा प्रदेश सञ्चारसम्बन्धी ऐन, २०७७ र प्रदेश सञ्चार (पहिलो संशोधन) नियमावली, २०७७ को व्यवस्था अनुसार उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
यसअघि ७ वैशाखमा अध्यक्ष पदमा नियुक्त भएका कमल कुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। सोही मुद्दामा उपाध्याय दोषी ठहरिएपछि यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
कार्यवाहक अध्यक्ष यादवले मधेस प्रदेशको मिडिया क्षेत्र पछिल्ला समय अपेक्षाकृत कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्दै यसलाई नीतिगत रूपमा सम्मानित, मर्यादित र अनुकरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना पनि रहेको बताए।






