धनुषाको चित्रपुरमा दुईदिने आँप महोत्सव सुरु

धनुषा । धनुषाको चित्रपुरमा दुईदिने आँप महोत्सव सुरु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा आज र भोली गरी दुई दिनसम्म आँप महोत्सवको आयोजना गरिएको हो ।

चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा सुरु भएको ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ मा स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्य राखिएको मेला आयोजना गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका अध्यक्ष प्रदीप महतोले बताए । उनले चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको समेत उल्लेख गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरु बजारीकरण हुन नसकेको बताउँछन् ।

मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिएका छन् ।

मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको अध्यक्ष महतोले बताए ।

हाल चित्रपुर क्षेत्रमा ३०० बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैँचामा उत्पादन हुँदै आएको छ । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७।१ प्रतिशत योगदान दिँदै आएको बताए ।

प्रतिक्रिया