लक्ष्मण मन्दिरको आम्दनी, रामरोशनको असुली!

जनकपुरधाम । जानकी मन्दिर परिसरभित्र रहेको लक्ष्मण मन्दिरको छुट्टै पहिचान थियो । दश वर्ष अघिसम्म त्यहाँ नियमित भण्डारा हुन्थ्यो । मन्दिरकै आम्दानीबाट दैनिक पूजापाठ र भण्डारा आयोजना गरिन्थ्यो । लाउड स्पिकरमा ‘माइकिङ’ गरेर तत्कालिन पुजारी कमला शरणले आरती र भण्डारामा सहभागी हुन भक्तजनलाई अनुरोध गर्थे । जानकी मन्दिर दर्शन गर्न आउने साधुसन्त र स्थानीय विपन्न परिवार समेत उक्त भण्डारमा सहभागी हुन्थे ।

मन्दिरबाट हुने आम्दानीले दैनिकी सयौं साधुसन्त र विपन्नको पेट भर्थ्यो । तर, पछिल्लो दश वर्षदेखि उक्त चलन हराएको छ । कमला शरणपछि पुजारीमा नियुक्त भएका सुशिल झा (दास) को पालादेखि सो प्रचलन बन्द भएको हो ।

अहिले लक्ष्मण मन्दिरको पुजारीमा गुठी संस्थान जनकपुरले सीताशरण दासलाई नियुक्त गरेका छन् । ‘मन्दिरमा भण्डारा बन्द भएको छैन् । माकिङ्ग गरेर बोलाएर खुवाउने कार्य मात्रै बन्द भएको हो,’ उनले भने, ‘अहिले पनि दैनिकी भण्डारा हुन्छ । हरेक साल पूर्णिमा, विवाह पञ्चमी महोत्सवमा साधुसन्तका लागि मन्दिरले भण्डाराको आयोजना गर्दै आएको छ । पहिले दैनिकी खानेहरूको सङ्ख्या बढी हुन्थ्यो अहिले मेला महोत्सवमा मात्रै हुन्छ ।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ भनिएका रामरोशन दासको दबाबका कारण उक्त चलन बन्द गराइएको करिब तीस वर्षदेखि मन्दिरको छेउमा पसल सञ्चालन गर्दै आएका एक व्यवसायी बताउँछन् । उनका अनुसार त्यसपछि रामरोशनले आफ्नो निकटलाई पुजारी नियुक्त गराएर आफ्नो बर्चश्व कायम गरेका छन् । अहिले पनि रोसनकै निकट मानिने सीताशरण दास पुजारी छन् । उनले रोशनकै ईसरामा सबै काम गर्ने गरेका छन् । लक्ष्मण मन्दिर मातहतकै १५ वटा सटर र पोखरीको पैसा समेत रोशनले नै उठाउने गरेको स्रोतको दावी छ ।

गुठीले मन्दिर सञ्चालन तथा व्यवस्थापन र आम्दानीको हरहिसाब राख्नका लागि पुजारी नियुक्त गरेपनि उनको काम पूजापाठमै सिमित राखिएको छ । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासको हस्तक्षेपका कारण लक्ष्मण मन्दिरका पुजारी सीताशरणको काम पुजापाठमै समिति छ ।

स्रोतका अनुसार रामरोशनकै जोडबलमा चार सालअघि गुठी संस्थानले सीताशरणलाई पुजारीमा नियूक्ति गरेका थिए । रामरोशनले चाहेकै व्यक्तिलाई लक्ष्मण मन्दिरका पुजारीमा नियुक्त गराउन सफल भएसँगै लक्ष्मण मन्दिरमा उनको प्रभाव बढेको हो ।

लक्ष्मण मन्दिरको मुख्य आम्दानीको स्रोत भनेको मन्दिरसँगै टासिँएको १५ वटा सटर र एउटा पोखरी रहेको छ । १२ हजारको दरले १५ वटै सटर भाडामा लागाइएको छ । त्यसबाट महिनाको १ लाख ८० हजार आम्दानी हुन्छ । तर मन्दिरमा खर्च भनेको पुजा सामग्री र बिजुली खपत मात्रै हो । विद्युत महशुल समयमा नर्तिदासमेत पटक पटक प्राधिकरणले लाइन काट्दै आएको छ ।

पुजारीले हालसम्म गुठी संस्थानलाई मन्दिरको आम्दानी पारदर्शी गरेका छैनन् । यसरी पुजारीको मनमोजी र गुठीको मौनताले गर्दा छुट्ट्रै महत्व बोकेका लक्ष्मण मन्दिरको अस्तित्वनै संकटमा परेको छ ।

सुरुमा लक्ष्मण मन्दिरका महन्तले हामीसँग भाडा उठाउथे तर पछिल्लो समय जानकी मन्दिरका महन्त रोशनले भाडा लिन थालेकोे त्यहीँ सटरमा २५ वर्षदेखि पसल चलाउँदै आएका एक व्यापारीले बताए । ‘उत्सवको समयमा लिइने मोटो रकमको त कुनै हिसाब नै छैन्,’ ती व्यपारीले भने, ‘दश वर्षदेखि रोशन बाबाले नै पैसा उठाइरहेका छन् । ’

रोशन निकट रामविनेश दासले पैसा उठाउने गरेको बुझिएको छ । उनी तुलसी स्मारिकाका कोषाध्यक्ष समेत हुन् । रोशनले उनीमार्फत नै मासिक भाडा उठाउँदै आएका छन् ।

यस विषयमा गुठी संस्थान जनकपुरका प्रमुख आनन्द प्रसाद अचार्यले पुजारी नियुक्त गरेपनि आम्दानीबारे अनभिज्ञता प्रकट गरे । आम्दानी र खर्च पुजारीकै मातहतमा रहेको उनको भनाइ छ । तर मासिक पारिश्रमिक वापतको रकम गुठी संस्थानले दिने गरेको उनले जानकारी दिए ।

उनले भने, ‘लक्ष्मण मन्दिर छुट गुठीमा पर्छ, त्यसैले मन्दिरको आम्दानी र खर्चको हिसाबकिताब पुजारीले राख्ने गर्छन् । मन्दिरको आम्दानी र खर्चको विषयमा संस्थानलाई थाहा हुदैन् । मन्दिरका पुजारीले जे भन्छन् त्यो पत्याउनुपर्ने हुन्छ ।’

मन्दिरमा हुने वार्षिक आम्दानी र खर्च विवरणको लेखापरिक्षण गराइ गुठी संस्थानलाई बुझाउनुपर्ने कानूनी प्रवधान रहेको छ । तर अधिकांस मन्दिरका महन्त र पुजारीले आम्दानी र खर्च पारदर्शी गरेको पाइँदैन । कुनै कुनै महन्तले लेखापरीक्षण गराएपनि बराबर गरेर ल्याउँछ जति आम्दानी भएको छ त्यति नै खर्च भएको देखाउने गरेको संस्थानका प्रमुख अर्चाय बताउँछन् । उनले भने, ‘मन्दिरमा आम्दानी बढी भयो भने कसैले देखाउँदैन तर खर्च बढी भयो मात्रै संस्थानलाई भन्न आउँछ । र, हामीले त्यो नै पत्याउनुपर्ने बाध्यता छ । मन्दिरमा दैनिकी पुजापाठमा कति खर्च भयो मेला उत्सवमा कति खर्च भयो त्यसको यकिन विवरण हुँदैन ।’

राम रोशन दासले भने सटरवापत भाडाको रकम आफूले नठाएको दाबी गर्छन् । उनले लक्ष्मण मन्दिरको सटरवापत उठेको भाडाले मन्दिरको पुजापाठ हुने गरेको र अरु रकम खेलकुदमा लगानी गरिएको पनि बताए ।

उनले भने, ‘आफ्नो नामको प्रयोग गरेर यदि कसैले सटरको भाडा उठाउन गएको छ भने मलाई त्यसको जानकारी छैन । र, रह्यो लक्ष्मण मन्दिरको सटरको भाडा उठाएकोबारे कुनै व्यापारीले ममाथि आरोप लगाएको हो भने म कुनैपनि सटरको भाडा उठाउन आजसम्म कतै गएको छैन ।’

लक्ष्मण मन्दिरको पुजारी पनि तपार्इंकै निकट रहेको प्रश्नमा उनले भने, ‘मन्दिरका महन्त र पुजारी आफ्नो निकट रहेपनि र आफूले नै महन्त बनाएपनि भाडाको रकमसँग कुनै लेनदेन छैन ।’

उनले जनकपुरधाममा बन्ने जतिपनि महन्त छन् सबैको लागि आफूले सहयोग गर्ने गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले लक्ष्मण मन्दिरको सटर भाडा रामरोशन दासले नै उठाउँने गरेको आरोप लगाउँछन् ।

रामरोशनलाई लक्ष्मण मन्दिरको भाडा उठाउँने अधिकार कसले दियो प्रश्नमा रामतपेश्वरले गुठी संस्थान जनकपुरले उनलाई भाडा उठाउने अधिकार दिएको बताए । तर गुठी संस्थानका प्रमुख अर्चायले संस्थानले लक्ष्मण मन्दिरको भाडा उठाउँन कसैलाई लिखित वा मौखिक आदेश नदिएको दावी गरे ।

प्रतिक्रिया