देवपुरा–रुपैठाको अवस्था सामान्य बन्दै

जनकपुरधाम । जनकपुरधाम–२० देवपुरा–रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिवारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त भएको थियो ।
आजदेखि यहाँको अवस्था सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए । त्यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत पारिएको उल्लेख गर्दै उहाँले कुनै पनि साम्प्रदायिक घटना हुन नदिनका लागि सचेत हुन सबैलाई आग्रह गरे ।
हाल त्यहाँ अप्रिय घटना हुन नदिनका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । शनिवारदेखि दुई समुदायबीच झडप हुन थालेपछि त्यहाँका बासिन्दा तनावमा थिए । मुर्ति सेलाउने क्रममा तथा भण्डा हटाउने विषयमा प्रहरी र स्थानीयबीच पनि झडप हुँदै आएको थियो । शान्तिसुरक्षा खलबलिन नदिन स्थानीय समुदाय र प्रहरी प्रशासनबीच सहमति भएको छ ।






