एमालेको विधान महाधिवेशनमा आएका मन्त्रीको गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका डिस्चार्ज

काठमाडौँ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिवार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो ।
ललितपुरको गोदावरीमा शुक्रवारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडीले बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी गुडेपछि उनको आलोचना भइरहेको छ ।
उक्त घटनाप्रति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै सबै उपचार खर्च पार्टीले व्योहोेर्ने बताएका थिए । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।
ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीले बालिका ग्वार्कोस्थित बीएनबी अस्पतालमा उपचार गराएर घर फर्किएको जानकारी दिए ।






