काँग्रेसमा गइसकेपछि एमालेले गर्यो संतोषलाई कारबाही

जनकपुरधाम। नेकपा (एमाले) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरिसकेका संतोष यादवलाई एमाले जिल्ला कमिटी धनुषाले निष्कासन गरेको छ। यादवले गत पुष २ गते पार्टी परित्याग गर्दै टिका लगाएर काँग्रेस प्रवेश गरेका थिए। उनलाई काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले काँग्रेसमा भित्र्याए।

यो पनिः-गाउँपालिकामा टिकटको आश्वासनपछि एमाले छोडेर फेरी काँग्रेसमै फर्किए संतोष

जिल्ला कमिटीले संगठन विभाग प्रमुखलाई पठाएको निष्कासनसम्बन्धी पत्रमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ निवासी यादवले पार्टीको विधान, अनुशासन तथा नीति–निर्देशन विपरीत गतिविधि गरेको ठहर गर्दै कारबाही गरिएको उल्लेख छ।

नेकपा (एमाले) लक्ष्मीनिया गाउँपालिका कमिटीको च.नं. १६, मिति २०८२/०९/०६ को सिफारिस तथा जिल्ला कमिटी धनुषाको सचिवालय बैठक (मिति २०८२/०९/१०) को निर्णयअनुसार यादवलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो। साथै, उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला कमिटीले संगठन प्रमुखलाई पठाएको निष्कासन सम्बन्धि उक्त पत्रमा उल्लेख छ।

जिल्ला कमिटी धनुषाले पार्टी अनुशासन, एकता र सिद्धान्त कमजोर पार्ने कुनै पनि गतिविधिलाई गम्भीर रूपमा लिने स्पष्ट पार्दै भविष्यमा यस्ता कार्यप्रति कडा निर्णय गरिने चेतावनी दिएको छ। पार्टीको हित, अनुशासन र संगठन सुदृढीकरणका लागि यो निर्णय अपरिहार्य रहेको पनि पत्रमा उल्लेख छ।

जिल्ला अध्यक्ष भोला यादवद्वारा जारी उक्त पत्रमा पार्टी निर्णयको कार्यान्वयन सबै तहमा कडाइका साथ गरिने उल्लेख गरिएको छ।

निष्कासित भएका यादव चारवपछि फेरी काँग्रेसमै फर्किएका छन्। काँग्रेसबाट एमालेमा प्रवेश गर्दै उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ४(१) बाट चुनाव उडेका थिए।

प्रतिक्रिया