मेयर यादवद्वारा भवन उद्धघाटन समारोहमा सभामुखको मानमर्दन, झुक्याए प्रमुख अतिथि

जनपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नवनिर्मित भवनको उद्धाटन समारोहमा अतिथिहरूको मानमर्दन गरेका छन् ।
बुधवार नवनिर्मित भवन उद्धघाटन कार्यक्रममा मधेश प्रदेशका सभामुख, प्रतिनिधि सभा सदस्य र पूर्वमन्त्रीहरूलाई अतिथिको रुपमा उनले आमन्त्रण गरेका थिए । उक्त समारोहमा मधेश प्रदेशका सभामुख रामअशिष यादव, सिरहा–४ बाट राष्ट्रिउ स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद तपेश्वर यादव, पूर्वमन्त्री उमांशकर अगरगरिया र रामकृष्ण यादव सहभागी भएका थिए । तर, मेयर यादवले रास्वपाका सांसदलाई प्रमुख अतिथि र सभामुख यादवलाई विशिष्ट अतिथि भनेर सम्बोधन गरे । जबकी मर्यादाक्रममा सभामुख सांसदभन्दा माथि हुन्छ ।
मेयर यादवले रास्वपाका सांसदलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेपछि दुई तरिकाले चर्चा भइरहेको छ । एक, मेयर यादवलाई मर्यादाक्रमको बारेमा ज्ञान छैन अथवा रास्वपाका सांसदलाई खुसी पार्नका लागि जानाजान सभामुखभन्दा माथि स्थान दिएको हुनसक्छ ।
त्यति मात्र होइत, रोचक त अझ के छ भने अतिथिहरू कार्यक्रममा पुग्नु अघि नै मेयर यादव स्वयंले शिलालेख अनावरण गरेर भवनको औपचारिक उद्धाटन गरिसकेका थिए । जबकी कुनै पनि भवनको उद्धाटनमा रिबन काट्ने, दीप प्रज्वलन र शिलालेख अनावरण गर्ने काम प्रम्ुख अतिथिको हुन्छ र, उक्त शिलालेखमा प्रमुख अतिथिको नाम पनि उल्लेख गरिएको हुन्छ ।
अतिथि आउनुअघि मेयर यादवले आफैं शिलालेख अनावरण गर्नुको अर्को कारण भनेको आगामी स्थानीय तहको निर्वाचनमा टिकट सुनिश्चित गर्नु । जसलाई मेयर यादवले प्रमुख अतिथि भनेर सम्बोधन गरे उनको नाम पनि शिलालेखमा थिएन् । नाम नै नभएपछि प्रमुख अतिथिबाट शिलालेख कसरी अनावरण गराउने भन्ने सोचले अतिथिहरूबाट भाषणबाजी मात्रै गराउन लगाए ।
मेयर यादव आगामी स्थानीय निर्वाचनमा रास्वपाबाट टिकट हत्याउने दाउमा रहेको बुझिन्छ ।
विषम परिस्थितिमा गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट रास्वपाको सरकार गठन भएपछि आगामी स्थानीय तह निर्वाचनमा पनि रास्वपाकै बोलाबाला हुने अहिलेदेखि नै चर्चा हुन थालेको छ । त्यसकारण रास्वपाबाट टिकट लिने सन्देश दिनका लागि मेयर यादवले सिरहाबाट चार र धनुषाबाट रास्वपाका दुईजना सांसदलाई उद्धाटन समारोहमा सहभागी गराउँदै प्रचारप्रसार पनि गराए । तर, अन्तिम समयमा सांसद तपेश्वर बाहेक कोहि पनि सहभागी भएनन् । स्रोतका अनुसार मेयर यादवले तपेश्वर मार्फत आगामी निर्वाचनमा रास्वपाबाट टिकट लिन लविङ्ग सुरु गरेका छन् ।
बिहीवार तामझामका साथ मेयर यादवले उद्धघाटन समारोहको आयोगन गरे । भाडाको घरबाट आफ्नै नवनिर्मित भवनमा सर–सामान सार्नका लागि दुई दिन कार्यालय बन्द रहने भन्दै मेयर यादवले सूचना नै प्रकाशन गरेका थिए । जबकी अहिले सङ्घीय सरकारले सातामा दुई दिन बिदा दिँदै आएको छ ।
तर, पनि मेयर यादवले सरकारी दुई दिनको बिदालाई सदुपयोग नगरी भवन उद्धघाटनको बहानमा थप दुई दिन बिदा दिने निर्णय गरे । उनको उक्त निर्णयको पनि नगरबासीले आलोचना गरेका छन् ।
रास्वपाकाे टिकट लोभका कारण मेयर यादवलाई सभामुखजस्तो गरिमामय पदको खिल्ली उडाउने छुट कसले दियो भन्ने प्रश्न यतिबेला उठेको छ ।






