ठेकेदार ‘हायर’ गरेर सीपमूलक तालिमको नाममा लाखौँ खर्चिदै मेयर यादव, उपलब्धी शून्य

जनकपुरधाम । स्थानीय सरकारबीच नगरबासीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने प्रतिस्पर्धा नै चलेको छ । स्थानीय तहका जनप्रतिनिधिले विभिन्न प्रकारका तालिमका नाममा वर्सेनी लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । तर, जसका लागि तालिम आयोजना गर्ने गरिएको छ, त्यसको उपलब्धी भने शून्य सावित भएपनि जनप्रतिनिधिले त्यस्ता कार्यक्रम ल्याउन छाडेका छैनन् ।

नगरपालिकाले सञ्चालन गर्दै आएको त्यस्ता तालिमको उपलब्धीका बारेमा लेखाजोखा पनि गरिँदैन । जनप्रतिनिध त्यस्ता तालिमबाट आउने आधा कमिसनको हरहिसाब मिलाउन व्यस्त देखिन्छन् । ती कार्यक्रम कुन संस्थाबाट गराउँदा बढी कमिसन लिन सकिन्छ, त्यस्ता संस्था, मानिस खोज्ने र बजेट सिध्याउने दाउपेचमै जनप्रतिनिधिको ध्यान केन्द्रित हुने गरेको छ ।

नागरबासीलाई तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने होडबाजीमा उत्रिने मध्येको एक हो, धनुषाको सहिदनगर नगरपालिका । यहाँका नगर प्रमुख दिनेश प्रसाद यादवले हरेक आर्थिक वर्षमा ४० देखि ४५ लाखसम्म रुपैयाँ तालिमका नाममा खर्च गर्दै आएका छन् । जसको कुनै उपलब्धी देखिएको छैन ।

वडाध्यक्षहरू पनि वडाले पाउने बजेट अनुसार तालिमका नाममा बजेट खर्च गर्ने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा पनि नगर प्रमुख यादवले नगर स्तरीय योजनामा करिब ४० लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका तालिमको योजना राखेका छन् ।

किसानका लागि तरकारी खेती तालिम, झोल साबुन बनाउने तालिम, हार्पिक तथा फिनाइल बनाउने तालिम, अगरबत्ती तथा मैनबत्ती बनाउने तालिम, किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम लगायत अन्य फरक–फरक शिर्षकमा जनचेतनामूलक कार्यक्रम ल्याइएको छ ।

मेयर यादवले आफू निकट मानिस र कार्यकर्तामार्फत त्यस्ता तालिमको योजनाहरू सञ्चालन गरिरहेका छन् । आफू निकट सङ्घसस्थामार्फत ती योजना सञ्चालन गर्ने हुँदा त्यस्ता योजनाहरू सार्वजनिक पनि गरिँदैन । आफ्ना नजिकको मानिस र कार्यकर्तामार्फत सिधै ती योजनाको सम्झौता गर्ने गरिन्छ ।

पालिकासँग सम्झौता गरेपछि तालिम प्रदायक सङ्घसस्थाका सञ्चालकले तालिममा भाग लिनका लागि सहभागी र स्थान खोज्न थाल्छन् । नगरबासी पनि तालिमबाट प्राप्त हुने भत्ता थाप्न मस्त छन् । तर, राज्यको लगानीको प्रतिफल भने शून्य जस्तै छ ।

निर्वाचित भएर आएदेखि सहिदनगरका जनप्रतिनिधिले नगरबासीलाई आत्मनिर्भर बनाउने भन्दै अनगिन्ती सीपमूलक तालिम सञ्चालन गरिसकेका छन् । तर, त्यसको उपलब्धी शून्य छ ।

त्यस्ता तालिम लिन भने पालिकाका सायदै कोही छुटेछन् । बरु एकै जनाले चार–पाँच प्रकारका तालिम लिन भ्याएका छन् । तर, तलिम लिनेहरूको दिनचर्या अहिले पनि तालिम लिनु अघिको जस्तै सामान्य छ । तालिम लिइसकेकाहरू अझै पनि बेरोजगार नै छन् । तालिम लिदाको उत्साह भोलिपल्टदेखि नै सेलाउँदा तालिम अर्थहिन बनेको छ ।

नगर प्रमुख यादवले चार वर्षदेखि नगरबासीलाई आत्मनिर्भर बनाउन करोडौं रुपैयाँ खर्चिसकेका छन् । तर, कसैले पनि नगरपालिकाबाट पाएको सीपमूलक तालिम अनुसार आफ्नै व्यवसाय गरेको भेटिएको छैन । लिएको तालिम अनुसार पेसामा आवद्ध नहुनुको एउटा कारण, उपकरण अभाव हो । नगरपालिकाबाट तालिम लिने तर, आफूले पाएको तालिम अनुसारका काम गर्न उपकरण नै भएपछि समस्या जसको तस छ । सीप सिकेर मात्रै नहुने भएकाले आफ्नै व्यवसाय सुरु गर्न समस्या कायमै छ । खाजा र भत्ताका लागि मात्रै तालिममा सहभागी हुने परम्परा जस्तै बनेको छ ।
तालिम प्रदायक संस्थाका सञ्चालकले पनि खाजा÷भत्ता बाँड्ने र सहभागीहरूको हस्ताक्षर गराएपछि बजेट निकासा गर्न पालिका तिर सोझिन्छ । कहिलेकाहीँ बजेट निकासामा कर्मचारीले आनाकानी गरेपछि सिधै नगरप्रमुख समक्ष गुनासो पोख्न दौडिन्छन् । ५० प्रतिशत कमिसन दिने सर्तमा त्यस्ता योजना खरिद गरिएको हुन्छ । अनि नगर प्रमुखले भुक्तानीका लागि कर्मचारीमाथि दबाब बनाएपछि कर्मचारीले छिट्टै कागजपत्र मिलाएर रकम भुक्तानी गर्ने गरेको बुझिएको छ ।

नगरपालिका स्रोतका अनुसार मेयर यादवले त्यस्ता तालिम सम्बन्धी योजना सञ्चालनका एक समाज विकास मञ्च नामक संस्था नै ‘हायर’ गरेका छन् । उक्त संस्थाले नै विभिन्न संस्थाको नामम चार–पाँच वटा तालिमको योजना चलाउने गरेको बुझिएको छ । बाँकी त्यस्ता योजनाहरू आफूले नियुक्ति दिएलाएका नगरपालिकाका करारका कर्मचारीमार्फत सञ्चालन गर्दै आएका छन् । तालिमको नाममा नगर प्रमुखले मिलिजुली बजेट सिध्याउने काम गर्दै आएका छन् ।

प्रतिक्रिया
    ट्याग: