२०८२ सालको एसईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा बोर्डले सोमवार साँझ एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने बोर्डले जनाएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा
बोर्डका अनुसार एसइईको नतिजा एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।

प्रतिक्रिया