धनुषामा औषधी पसलबाट भारी मात्रामा लागुऔषधसहित एकजना पक्राउ

जनकपुरधाम । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठुलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका–८, भिमान चोकमा रहेको समीक्षा हेल्थ केयरबाट लागुऔषधसहित सन्तोषकुमार विश्वकर्मालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जनपद प्रहरी र लागुऔषध ब्युरो शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको संयुक्त टोलीले रितपूर्वक औषधी पसल र घर कोठामा खानतसाली गरेर लागुऔषध बरामद गरिएको बताए।
उनका अनुसार बरामद लागुऔषधमा ट्यापेन्टाडोल ५० एमजीका एक हजार ७०० पिस, स्पासरेस्ट १०० एमजीका एक हजार ५९० पिस, ट्यापेन्टाडोल १०० एमजीका एक हजार २०० पिस, ट्रामाडोल ५० एमजीका १०० पिस, ट्रामाडोल एनाट्रामका २९ पिस, एन्टिकोफका ५०० पिस, स्पासपेनका ५०० पिस तथा स्पाज्मो २० एमजीका ३०० पिस रहेका छन ।
बरामद गरिएका सबै औषधी गरी कुल पाँच हजार ९१९ पिस लागुऔषध फेला परेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
उनका अनुसार खानतलासीका क्रममा घरको भुइँतलाको पछाडितर्फ रहेको कोठामा कार्टुन तथा प्लास्टिकको पोका भित्र लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका लागुऔषध फेला परेको हो ।
पक्राउ परेका विश्वकर्मा गणेशमान चारनाथ नगरपालिका–१ निवासी रहेको बताउँदै उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।






