जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डे पक्राउ

काठमाडौं । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो ।
सीआईबीले पाण्डेले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएको हो, त्यसलाई अन्यत्र प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको जनाएको छ । उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त कम्पनीका एकल सञ्चालक हुन् ।
उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएकामा सीआईबीको टोलीले उनलाई बुधबार उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो ।
उनी जानकी मेडिकल कलेज जनपुरका अध्यक्ष समेत हुन् ।
-लोकान्तर






