पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना

काठमाडौं । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले दुई जनालाई दोषी ठहर गरेको हो। दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना सजाय सुनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ माघ २०७६ मा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना गरेको अनुसन्धानमा खुलेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यादव र मण्डलका साथै पूर्वाधार विकास कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादवका साथै राजपाका केन्द्रीय सदस्य वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई प्रतिवादी बनाएको थियो।
पूर्वाधार विकास कार्यालयका प्रमुख गोइत तथा पूर्वसांसद यादव र राजपा केन्द्रीय सदस्य मण्डलले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो। उनीहरूले नक्कली व्यक्ति खडा गरी फर्जी उपभोक्ता समिति गठन गरेको र सो कार्यमा नायब सुब्बा कृष्णकुमार यादवको पनि संलग्नता रहेको अख्तियार अनुसन्धानको निष्कर्ष थियो।
साथै उनीहरूले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समिति गठनमा पनि फर्जी काम भएको अख्तियारको निष्कर्ष थियो । सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिका पदाधिकारीको नागरिकतामा विवरण सच्याएको भेटिएको थियो। आजको राजधानी दैनिकमा समाचार छ।






