सत्तारुढ गठबन्धनलाई अन्तरघात गर्दै धनुषाका दर्जनौ नेता कार्यकता एमाले प्रवेश गर्दै

जनकपुरधाम । सत्तारुढ गठबन्धनलाई अन्तरघात गर्दै धनुषाका दर्जनौ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्दैछन् ।

मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र नेपाली काँग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादवसहित गठबन्धनका दर्जनौं नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।

उनीहरू आफ्नै पार्टीका उच्चपदस्थ नेताबाट असन्तुष्ट भएर प्रतिपक्षी एमाले प्रवेश गर्न लागेका हुन् । व्यक्तिगत स्वार्थका लागि खिचातानी गरेको आरोप लगाउँदै उनीहरू पार्टी परित्याग गरी एमाले प्रवेश गर्न लागेका हुन् ।

काँग्रेसका यादव तीन पटक पार्टीको जिल्ला सदस्य, एक पटक जिल्ला सचिव, उपसभापति र कार्यवाहक सभापतिको नेतृत्व गरिसकेको भएपनि पार्टीले बाईपास गरेको कारण एमाले प्रवेश गर्न लागेको बुझिएको छ ।

पार्टीको जिल्ला अधिवेशनमा पार्टीका कनिष्ट नेता योगेन्द्र पजियारसँग पराजित भए लगत्तै भएको स्थानीय तहको निर्वाचनमा पनि पार्टीले उचित स्थान नदिई सम्मान नगरेको आरोप लगाउँदै उनी पार्टी परित्याग गर्न लागेका हुन् ।

जिल्ला सभापतिमा पराजित भएपछि पालिका अध्यक्षको टिकट माग्दा उनलाई प्रदेश सभाको टिकट दिने प्रतिबद्धता दिइएको थियो । तर, उनको नाम उम्मेदवार सिफारिसमा पनि समावेश नगरिदिए पछि उनी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भदौ २७ मा आयोजना गर्न लागेको एक कार्यक्रममा यादव पार्टी प्रवेश गर्ने भएका हुन् ।

नेपाली काँग्रेसले धनुषा–४ बाट प्रत्यक्षतर्फ महेन्द्र यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यको लागि सिफारिस भएका दुबै जना २०७४ सालको चुनावमा एमाले साँसद रघुवीर महासेठसँग पराजित भएको थिए । सह महामन्त्री यादव प्रतिनिधिसभा र डा. यादव प्रदेशसभामा पराजित भएका थिए । त्यसैगरी क्षेत्र नं. ४ बाटै प्रतिनिधिसभाको समानुपातिक तर्फ काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियार, तुलसा आचार्य र निर्मला कोइरालाको नाम सिफारिस गरिएको छ ।

यसरी हेर्दा ३५ वर्षदेखि निरन्तर पार्टीमा लागेका नेता सन्तोष यादवलाई जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट रघुवीर महासेठसँग प्रदेश सभामा टिकट दिने पक्का पएपछि पार्टी प्रवेश गर्न लागेको देखिन्छ ।

यादवले एमाले प्रवेश गरेपछि त्यस क्षेत्रमा काँग्रेसलाई ठुलो घाटा लाग्ने त्यस क्षेत्रका नेता कार्यकर्ताहरू बताउँछन् । धनुषा जिल्ला अधिवेशनमा सन्तोष यादवलाई जिताउन दिनरात जुटेका महेन्द्र यादवलाई गुट उपगुटका कारण जिल्ला सभापति योगेन्द्र पजियारले निधिको ईसारामा असहयोग गर्ने हल्ला पनि चलिरहेको छ ।

अब यस क्षेत्रमा काँग्रेसले आफ्ना नेताकार्यहर्ताहरुलाई यस्तो समयमा सम्हाल्न सकेन भने पछिल्लो पटक एमालेबाट निर्वाचित भएका रधुविर महासेठ यस पटक पनि दोहोरिन समय नलाग्ने काँग्रेसकै नेता कार्यकर्ताहरु बताउँछन् । यद्यपि संतोष वा ज्ञानेन्द्र मध्ये कुनै एक जना मात्रै टिकट पाउँने कन्फर्म भएमा दुई जना मध्ये कुनै एक जनाले मात्र पार्टी प्रवेश गर्ने सम्भावना पनि रहेको श्रोतले जनाएको छ ।

त्यसैगरी जसपाबाट मधेश प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका ज्ञानेन्द्र यादव, पार्टीका नेता शेष नारायण यादवसहितका नेताहरूको घेराबन्दीमा पर्न थालेको भन्दै एमाले प्रवेश गर्न लागेका हुन् ।

टिकट पाउने सम्भावना कम देखेपछि एमालेमा प्रवेश गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । मधेश आन्दोलनमा सक्रिय रहेका उनी लगत्तै भएको निर्वाचनबाट प्रदेश सभा सदस्यमा जितेपछि मधेश प्रदेश सरकारमा मन्त्री बनेका थिए । झन्डै डेढ वर्ष अघि मधेश प्रदेश सरकारमा मन्त्रीहरू फेरबदल हुँदा उनले पार्टीको निर्देशन अनुसार राजिनामा दिएका थिए ।

त्यस्तै यसअघि २०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा जसपाबाट प्रतिनिधि सभाको चुनावमा रघुविर महासेठसँग पराजित भई मत प्राप्त गरेको महाजन यादव पनि एमालेमा प्रवेश गर्न लागेका छन् । साथै धनुषा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारको सिफारिसमा नपरेको दिपक कार्की पनि एमालेमा प्रवेश गर्ने बताईएको छ ।

भदौ २७ गते एमालेमा प्रवेश गर्न लागेको नेता कार्यकर्ताहरू मध्ये अधिकांश धनुषा निर्वाचन क्षेत्र नं.४ कै रहेको बुझिन्छ । यसरी हेर्दा एमालेमा यादव थरका नेता कार्यकर्ताहरू प्रवेश गर्ने सङ्ख्या बढ्दो देखिन्छ । मधेशको चुनावमा जातीय समिकरणले पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । त्यसो भयो भने निर्वाचन क्षेत्र नं.४ मा नेपाली काँगे्रेस दोब्बर मतले जित्ने काँग्रेसका नेताहरूले दावी गरिरहँदा काँग्रसले जित हात पार्न नसेर एमालेले जित्ने प्रवल सम्भावना देखिन्छ ।

प्रतिक्रिया