क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारी तलबको लागि आन्दोलनमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको जनप्रतिनिधिहरुको आन्तरीक विवादका कारण नगरसभा नहुँदा कर्मचारीले तलब भत्ता नपाएपछि आन्दोलित भएका छन् । उनीहरुले २०७९ श्रावण र भदौको तलब तथा चाडपर्व खर्च नपाएपछि आन्दोलित भएका हुन् ।
नगरपालिका मातहत रहेका शिक्षक, स्वास्थ्यकर्मी, पशु, कृषि तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुले चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत आईतबार हातमा कालो पट्टी बाँधी सांकेतिक विरोध कार्यक्रम गरेका छन् ।
उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत ४ र ५ गते पनि साँकेतिक विरोध कार्यक्रम अन्तर्गत हातमा कालो पट्टी बाँधी विरोध गर्ने तथा दिनको २ बजेपछि कार्यालय बन्द गर्ने कार्यक्रम तय गरेका छन् । त्यसपछि पनि हाम्रो माग संवोधन नभए पछि पूर्ण रुपमा कामकाज ठप्प गर्ने लगायतका कार्यक्रमहरु घोषणा गर्ने क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य संयोजक रामबहादुर यादवले जनाएका छन् ।
नजिकिदै गएको नेपालीहरुको महान चाड दशैंमा पनि तलब भत्ता पाउँने आशा नपाएपछि हामीहरु आन्दोलन गर्न बाध्य भएको नगरपालिकाका शिक्षा अधिकृत दिपक खत्री बताउँछन् । खत्री भन्छन् नगरपालिका मातहतका सबै शाखाका प्रमुख ज्यूहरुले संयुक्त रुपमा तलब भत्ता समयमै उपलब्ध गराईदिन ज्ञापन पत्र समेत बुझाएका थियौं । तर, जनप्रतिनिधिहरुले आफ्नो राजनीतिक समस्यालाई लिएर हाम्रो तलब भत्ता उपलब्ध गराउँन कुनै चासो नदिएपछि आन्दोलन गरेका छौं ।
नगरपालिकाको नगरसभा २०७९ असार १० गते समय मै शुभारम्भ भएपनि जनप्रतिनिधिहरुको विवादले गर्दा अहिलेसम्म सम्पन्न हुन सकेको छैन् ।






