जसपाले प्रतिनिधि सभा प्रत्यक्षका लागि एकल युवा उम्मेदवारलाई टिकट देला त ?

काठमाडौं । यतिबेला दलहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा सक्रिय छन् । विशेषगरी प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्ग्याउन दलहरू लागि रहेको बेला विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिसको क्रम पनि चलिरहेको छ । तर, एकल नाम सिफारिक हुनेको सङ्ख्या भने न्यून छ । तीनै न्यून एकल उम्मेदवार सिफारिसमा जनता समाजवादी पार्टी नेपालका मनिष यादव (ओम) पनि छन् ।

बारा जिल्ला निवासी यादवको नाम बारा क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्ष तर्फ एकल उम्मेदवारको रुपमा समाजवादी युवा सङ्घले सिफारिस गरेको छ ।

जसपा, नेपाल निकट समाजवादी युवा सघंका केन्द्रीय सदस्य तथा मधेश प्रदेश युवा समितिका मुख्य सचिव समेत रहेका यादवको नाम बारा जिल्ला क्षेत्र नं. ३ को क्षेत्रिय समितिको बैठकबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको नामावलीमा समावेश गरी सिफारिस गरिएको हो ।

सोही क्षेत्रका लागि क्षेत्रिय समिति र जिल्ला समितिले प्रतिनिधि सभाका लागि जसपाबाट सिफारिस भएका रामबाबु प्रसाद कुशवाहा लोसपाबाट पनि प्रदेश सभाका लागि सिफारिस भएका छन्। स्रोतबाट बुझ्दा उनी अहिले पनि लोसपामै छन् । तसर्थ बारा क्षेत्र नं. १ बाट पार्टीको क्षेत्रिय र जिल्ला एवम् मधेश प्रदेश समितिको सिफारिसमा यादव एकल सिफारिस भएका हुन् ।

जिल्लाबाट गरिएको सिफारिस जसपाको मधेश प्रदेश समितिका पठाइए पछि बारा क्षेत्र नं. १ का लागि एकल उम्मेदवारको रूपमा यादवको नाम पठाइएको समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष हेमन्त राईले बताए ।

तर, पार्टीले उनलाई टिकट दिने वा नदिने विषय भने टुङ्गिन बाँकी छ । जसपा अहिले गठबन्धन सरकारमा रहेको हुँदा उसको भागमा बाराको कुन कुन क्षेत्र पर्छ भन्ने अहिले नै यकिन भन्न सक्ने अवस्था छैन । अर्को भनेको युवालाई अहिलेनै पार्टीले प्रत्यक्षमा टिकट दिनेमा कतिपय जसपाका नेताहरू नै असहमत छन् ।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार युवालाई टिकट दिने विषयमा अहिले नै केही भन्न सक्ने अवस्था छैन । कारण, यो विषयमा अहिले छलफल हुन बाँकी नै छ ।

यादव सिफारिस क्षेत्रबाट धेरै आकाङ्क्षी नभएका कारण उनको सम्भावना पनि बलियो छ । तर, गठबन्धनमा भागबण्डा मिल्न भने बाँकी रहेको हुँदा के हुन्छ त्यो हेर्न पनि कुर्नै पर्नेछ ।

यस विषयमा यादवसँग बुझ्दा उनी बारा क्षेत्र नं. १ र ३ मध्ये पार्टीले जुन स्थानमा टिकट दिए लड्न तयार रहेको बताए । उनले युवालाई पार्टीले अवसर दिनेमा आफू विश्वस्त रहेको भन्दै एकल उम्मेदवारको रुपमा नाम सिफारिस भएकाले आफ्नो नाम केन्द्रबाट पनि आउनेमा विश्वस्त रहेको बताए ।

यादव पार्टी भित्र, युवा माझ र जिल्लामै चर्चित युवा नेताको सूचीमा पर्छन् ।

एक असल विचारक, बौद्धिक, उर्जावान्, क्रान्तिकारी र इमान्दार युवाका रूपमा चिनिने उनी भन्छन् “राजनिति मेरो पेशा होइन् धर्म हो । पार्टीमा फरक विचारधारा भएको म सँधै युवाका लागि आवाज उठाउँदै आएको छु । यसैपनि युवालाई नेतृत्वमा लिएर आउने बेला भइसकेको हुँदा म र मजस्ता अन्यलाई नेतृत्व तहसम्म पुर्याउनका लागि म सँधै लागिरहने छु ।’

‘देश परिवर्तनका लागि युवाको भूमिका महत्त्वपूण रहेको र आगामी दिनमा पनि रहने हुनाले युवालाई पार्टीको नेतृत्त्व तहमा पुर्याउन पनि मेरो भूमिका रहन्छ र रहँदै आएको छ । युवा पीढिलाई आन्दोलनका लागि मात्रै प्रयोग गर्ने परिपार्टीलाई अन्त्य गर्ने बेला पनि यहि रहेको छ ।’ उनले थपे ।

३४ वर्षका यादव पेशाले व्यवसायी छन् भने सानै उमेरदेखि राजनीतिमा चासो राख्ने व्यक्तिको रुपमा पनि मधेशमा चिनिन्छन् ।

प्रतिक्रिया