किन निर्वाचन जस्तो माहोल बनेन, यस्ता छन् कारण ?

आइतबार देशभर भइरहेको आम निर्वाचनमा मतदाताको आशातीत सहभागिता हुन नसकेको सरोकारवालाहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । विगतका निर्वाचनमा जस्तो मतदातामा उत्साह नदेखिएको उनीहरूको भनाइ छ । राजधानीसहित विभिन्न जिल्लामा रहेका मतदान केन्द्रमा रातोपाटी प्रतिनिधिहरु पुग्दा पनि उत्साहजनक सहभागिता नभएको पाइयो ।

यसैबीच निर्वाचन पर्यवेक्षकहरुलाई यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न पुगेको पाएको बताए ।

आइतवार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल ९जिओक० ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।

उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौ । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताए । उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए ।

उनले भने, ‘मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । सुरक्षाकर्मीहरू सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर सहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’

त्यस्तै पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताए । उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरूको उत्साह कम देखिएको बताए ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिए । उनले मतदान केन्द्रमा चाप कम रहेको बताए । उनले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताए । उनले मतदान स्थलमा कुनै दबाब नरहेको बताए ।

उनले भने– ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो । मतदान केन्द्रमा चाप छैन । वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखियो । मतदान शान्त छ, दबाब छैन । पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला की भन्ने भय छ ।’

त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बितेका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन् । उनले भनिन्, ‘मतदानलाई हेर्दा सुरुदेखि नै मतदाता कम उत्साहित रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरूको संख्या पातलो छ । पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’

त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया
    ट्याग: