सप्तरीको क्षेत्र नं १ र २ मा सिके राउत दाजुभाइको अग्रता

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतका साथ अग्रता लिएको छ ।

उनलाई नेपाली कांग्रेसका रामदेव साहले दुई सय १४ मतका साथ पछ्याइ रहेको छ भने नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले दुई सय एक मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ क्षेत्र नं १ (१) र (२) मतगणना कार्यसमेत सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राखेको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले दुई हजार ४ सय २ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत प्राप्त गरेको छ ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले पाँच सय ५० मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ (१) मा जनमत पार्टीका सतिश सिंहले दुई हजार आठ सय ८६ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले एक हजार एक सय ९७ मत प्राप्त गरेको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक हजार ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ (२) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया